
तीजको उल्लासपूर्ण वातावरणलाई समेट्दै गीतकार प्रिया स्मृति गजमेरको शब्द सिर्जनामा नयाँ तीज गीत ‘हाइ गोरी’ सार्वजनिक गरिएको छ। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गजमेरले यस गीतमार्फत तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई गहिरो रूपमा उजागर गरेका छन् ।
लोकप्रिय गायिका शान्तिश्री परियारको आवाज, यादव योगीको संगीत र सञ्जय श्रीपालको संगीत संयोजनमा सजिएको यो गीत मीना थापाको प्रस्तुति हो। भिडियोमा मोडेल अस्मिता रनपालको अभिनय रहेको छ भने कोरियोग्राफी स्मृति तिमल्सिना ‘गुरु आमा’ले गरेकी छन्।
‘हाइ गोरी’ गीतमा माइती जान पाउने महिलाहरूको खुसी, वर्षभरि उनीहरूले सहेका पीडा, परिवारसँगको भेट र तीजको रमाइलो माहोललाई प्रभावशाली ढंगले शब्दमा उतारिएको छ।
गीतकार गजमेरले यसअघि पनि ‘किन किन तिम्रै यादमा’, ‘नक्कली भैछु र’, ‘छिटको गुन्यो’, ‘तलतल बनायो’ जस्ता चर्चित गीतहरूमा शब्द रचना गरिसकेका छन्। पत्रकारिता र गीत लेखन दुबै क्षेत्रमा योगदान दिँदै आएका गजमेरको यो नयाँ प्रस्तुति पनि श्रोताले रुचाउने अपेक्षा गरिएको छ।


