
दाङ घाेराहि तुलसीपुर चार लेन सडक निर्माणको काम तिहारपछि सुरु हुने भएको छ। हाल सडक स्तरोन्नतिका लागि सर्भे सकिएर साइट भेरिफिकेसनको काम भइरहेको छ।
दिवा/बन्दन भगवती जेभीका कन्ट्र्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाका अनुसार कात्तिकबाट निर्माण कार्य सुरु हुने छ। सडक स्तरोन्नति क्रममा हटाउनुपर्ने रुख, विद्युत् पोल र घरको पहिचान भइरहेको छ।
साउन दोस्रो सातादेखि सुरु भएको ज्वाइन्ट सर्भे प्रतिवेदन तयार गरी मदन भण्डारी सडकमार्ग परियोजना र सडक डिभिजन कार्यालय दाङमा बुझाइएको छ। डिपिआर अनुसार २१.५८ किलोमिटर लामो सडकखण्डमा ४३ वटा रुख हटाउनुपर्नेछ।
सहरी क्षेत्रमा सडकको चौडाइ २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर हुनेछ भने ग्रामीण क्षेत्रमा १५ मिटर कालोपत्रे हुने छ। करिब ९.५ किलोमिटर सडक सहरी क्षेत्रमा पर्छ।
चार लेन सडक निर्माणका लागि २ अर्ब ५३ करोड रुपैयाँमा २०८२ असार २४ गते ठेक्का सम्झौता भएको हो। सम्झौता अनुसार २०८५ असार २४ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ।

