राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोड भ्रष्टाचार मुद्दा



दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा. संगीता भण्डारीसहित १३ जनामाथि एमआरआई मेसिन खरिदमा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार एमआरआई मेसिन खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ विपरीत गरी बदनियतपूर्वक सञ्चालन गरिएको पाइएको हो।

आरोपीहरुले खरिद आवश्यकताको पहिचान र गुरुयोजना नै नबनाई बजेट माग गरी पत्राचार गरेको, साथै प्राविधिक स्पेसिफिकेशन स्वीकृत भइसकेपछि समेत अनधिकृत रूपमा संशोधन गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

मुद्दामा पूर्व–उपकुलपति भण्डारीसहित तत्कालीन रजिष्टार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, अमितकुमार चौधरी, नितिन कुर्मी, छायाँ डिसी, श्रीराम चौधरी, हिरालाल भण्डारी, मदन भण्डारी, अञ्जु शर्मा, सुजता भट्राई र लुम्बिनी हेल्थ केयर प्रालिका अध्यक्ष राज ज्ञवालीसमेत प्रतिवादी छन्।

उनीहरूमाथि प्रतिव्यक्ती ९ देखि साढे १२ करोड रुपैयाँसम्म बिगो दाबी गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्