दंगीशरण ५ मिरौलिमा महिला सामुदायिक भवन निर्माण कार्य शुभारम्भ



दंगीशरण गाउँपालिका ५ मिरौलिमा कृषि उत्पादन तथा बीउ संकलन वितरण केन्द्रसहित महिला सामुदायिक भवन निर्माण कार्यको विधिवत् शुभारम्भ भएको छ।

विकास कोष नर्वे र दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको जग पूजा आज एक समारोहका बीच सम्पन्न गरिएको हो।

दङ्गिशरण गाउँपालिकाे १० लाख ५० हजार र विकास काेष नर्वेकाे १० लाखमा उक्त भवन निर्माण हुन लागेकाे हाे ।

भवन निर्माणको शुभारम्भ संस्थाकी अध्यक्ष दिल कुमारी बिक र गाउँपालिका अध्यक्ष शम्भु गिरीको संयुक्त हातबाट विधिपूर्वक पूजा गरी गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूहका सदस्य, कृषि समूहका प्रतिनिधि र गाउँलेहरूको सहभागिता रहेको थियो।

भवन निर्माण सम्पन्न भएपछि स्थानीय महिलाहरूका लागि कृषि तालिम, उत्पादित वस्तुको संकलन छनोट, बीउ वितरण, बैठक सेमिनार तथा विविध सीप विकास कार्यक्रम सञ्चालन गर्न सहज हुने बताइएको छ।

दंगीशरण गाउँपालिकाले कृषि उत्पादन वृद्धि, महिला सशक्तीकरण र समुदायमा आधारित आत्मनिर्भरता अभिवृद्धिमा यो केन्द्रले सहयाेग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्