मैत्रीपूर्ण भलिबलमा पत्रकार महासंघ दाङ विजयी




हेमराज परिवर्तन

प्याब्सन दाङको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखा विजयी भएको छ । स्थापना दिवसको दोस्रो दिन आयोजक प्याब्सन र पत्रकार महासंघबीच भएको खेलमा पत्रकार महासंघको टोलीले लगातार दुई सोझो सेटमा जित हात पारेको हो ।

बुधवार घोराही उपमहानगरपालिका–१३ स्थित प्रज्ञान एकेडेमीको खेलमैदानमा सम्पन्न खेलको पहिलो सेटमा पत्रकार महासंघले २५–२२ को जित निकालेको थियो भने दोस्रो सेटमा २५–१७ को स्पष्ट अग्रतासहित खेल आफ्नो पक्षमा पारेको थियो । दुवै टिमबीचको खेल प्रतिस्पर्धात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको तर्फबाट हेमराज परिवर्तको कप्तानीमा सविन प्रियासन, नरेन्द्र केसी, हिमाल महरा, भुवन थापा, अभिषेक बोहरा, लालसुर विष्ट, चन्द्रबहादुर डाँगी लगायतका पत्रकारहरूको सहभागिता रहेको थियो ।
यस्तै, प्याब्सनको टोलीतर्फ चित्रबहादुर घर्तिको कप्तानीमा केशव थापा, हरिप्रसाद पौडेल, किरण न्यौपाने, अर्जुन घर्ति, नारायण बुढा, लोकराज गिरी, काशीराम घर्तिमगर र सुनिल गौतम सहभागी भएका थिए । खेलको रेफ्रीको भूमिकामा नवराज खत्री र रमेश चौधरी रहनुभएको थियो ।

कार्यक्रम प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादब गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्द र प्याब्सन दाङका सल्लाहकार पोषण न्यौपानेको उपस्थिति रहेको थियो ।

यसैगरी प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वली, सल्लाहकार केशरमान बुढाथोकी, प्याब्सन दाङका सचिव आदिम केसी, प्याब्सन घोराहीका उपाध्यक्ष मानसिंङ घर्ति लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

खेलको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले शिक्षक र पत्रकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र आपसी सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले शिक्षा क्षेत्र र सञ्चार क्षेत्रबीच सकारात्मक संवाद र सहकार्यको सन्देश दिएको उहाँको भनाइ थियो ।

प्याब्सन दाङको ३५औँ स्थापना दिवसको भोलि अन्तिम दिन जिल्लाको शैक्षिक अवस्थाबारे बहस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित औपचारिक रूपमा समापन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्