हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीको १८औँ वार्षिक उत्सव सम्पन्न



हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक उत्सव आज विविध कार्यक्रमका बीच सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सहकारीको दर्शन, मूल्य–मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै संस्था यहाँसम्म आइपुगेको उल्लेख गर्नुभयो। उहाँले सहकारीले हाल छ वटा विधामा सेवा सञ्चालन, तीन खम्बे आर्थिक नीतिलाई आत्मसात, वार्षिक करिब ४१ करोड रुपैयाँको कारोबार गर्दै हजारौँलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिन सफल भएको बताउनुभयो।

सहकारीले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै पोखरेलले सहकारी अभियान विश्वव्यापी रूपमा विस्तार भइरहेको बताउनुभयो। उहाँले अब सहकारीहरू अझै व्यवसायिक योजना, पर्यटन प्रवर्द्धन, होटल तथा पार्क जस्ता पूर्वाधार विकासतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, समन्वय र सहकार्यका लागि राष्ट्रिय बैंक तथा राष्ट्रिय सहकारी संस्थाहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारी संस्था बहुआयामिक रूपमा अघि बढिरहेको बताउँदै यसले सदस्यहरूको जीवनस्तर उकास्न, स्वावलम्बन बढाउन र उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

हाल संस्थामा ४ हजारभन्दा बढी सदस्य रहेकोमा ११२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

संस्थाले उत्कृष्ट कर्मचारी, सेवाग्राही, वचतकर्ता, ऋणी, विज्ञापनदातालाई सम्मान गरेको छ । त्यसैगरी रेडियोका स्रोता, उच्च कारोवार गर्ने सेयर सदस्य, जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी तथा विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको थियो।

संस्थाद्वारा सञ्चालित हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीहरूले तयार पारेको विज्ञान प्रदर्शनी तथा होटल म्यानेजमेन्टका विद्यार्थीहरूले तयार पारेका खाजाका परिकार राखिएको थियाे ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्