
तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले आयोजना गरेको दोस्रो नमुना युवा संसद कार्यक्रम सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक २०८२ पारित गर्दै मङ्सिर २ गते सम्पन्न भएको छ।
दुई दिनसम्म चलेको नमुना संसदमा पहिलो दिन संसद संचालन प्रक्रिया, कानुन निर्माण र अधिवेशन सञ्चालन सम्बन्धी विस्तृत प्रशिक्षण गरिएको सभामुख इन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो।
दोस्रो दिन नमूना सूचना तथा सञ्चार प्रविधि मन्त्री सन्देश घर्तीले पेश गर्नुभएको सामाजिक सञ्जाल नियमन विधेयकमा दफावार छलफल गरी बहुमतले पारित गरिएको हो।
कार्यक्रम विद्यालयको आयोजनामा तथा द नेसनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो, जहाँ कानुन संकायका विद्यार्थीहरूले संसदीय अभ्यासको वास्तविक नमुना प्रस्तुत गरेका थिए।

समापन समारोह लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा सांसद धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उहाँले नमुना संसदजस्ता अभ्यासले विद्यार्थीमा नेतृत्व क्षमता र राजनीतिक समझ बढाउन मद्दत गर्ने बताउनुभयो।
कार्यक्रममा उत्कृष्ट वक्ता, अनुसन्धानकर्ता र नेतृत्व विधामा अव्वल विद्यार्थीहरूलाई सम्मान गरिएको छ। साथै कानुन संकायमा अध्ययनरत सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

