
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले जोड दिएका छन्। यही विषयमा दाङमा आयोजित संवाद कार्यक्रम सम्पन्न भएको छ ।
लुज फोरमका रूपमा काम गरिरहेको संवाद समुहले नागरिक समाज, युवापुस्ता, पत्रकार तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा निर्वाचनलाई विश्वसनीय बनाउन साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै निर्मल नेपालीले निर्वाचन प्रक्रियामा नागरिक सहभागिता र सचेतनाको आवश्यकता औंल्याउनुभयो। उहाँले शान्ति र सद्भाव कायम राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो।
संवादका क्रममा सहभागीहरूले कुसुन्डा जातिको एजेन्डा कम सुन्ने गरिएको गुनासो गरेका थिए। अल्पसंख्यक तथा सीमान्तकृत समुदायका मुद्दाहरूलाई मुख्यधारमा ल्याउन नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएकाे थियाे ।
निर्वाचनलाई धाँधलीरहित बनाउन विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने सुझाव पनि राखिएको थियो। विद्यार्थीहरूलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने र हरेक क्षेत्रमा विद्यार्थीलाई प्रयोग गरेको पाइएमा खबरदारी गर्नुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए। निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कडाइका साथ निगरानी गर्न नागरिक समाजले सक्रिय भूमिका खेल्नुपर्नेमा पनि जोड दिइएकाे थियाे।
सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो। राजनीतिक दलका उम्मेदवारहरूले भोलि के गर्ने भन्ने विषयमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न नसकेको भन्दै पारदर्शिता र उत्तरदायित्वको माग गरिएको थियो। साथै एकीकृत बस्ती व्यवस्थापनका विषयमा स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान गर्न जाँदा विशेष व्यवस्था हुनुपर्ने विषयमा पनि सहभागीहरूले ध्यानाकर्षण गराएका थिए। मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने, सहायक कर्मचारीको व्यवस्था गरिनुपर्ने र पहुँचयुक्त संरचना सुनिश्चित गरिनुपर्ने माग उठाइएको थियो।
कार्यक्रमका सहभागीहरूले शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्दै निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन नागरिक समाज, राजनीतिक दल, सुरक्षा निकाय तथा आम नागरिक सबैको साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकालेका छन्।
संवाद समूह दाङको सहजीकरण तथा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) को व्यवस्थापनमा आयोजित कार्यक्रममा संवाद समुहका वरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजीकरण गर्नुभएको थियो।

