दाङमा अन्तरपुस्ता महिलावादी नेतृत्व विकास तालिम सम्पन्न



ओरेक नेपालको आयोजनामा दाङमा अन्तरपुस्ता महिलावादी नेतृत्व विकास तालिम सम्पन्न भएको छ। आइतबारदेखि सुरु भएको उक्त तालिम महिलाको हक अधिकारका क्षेत्रमा लामो समयदेखि वकालत र पैरवी गर्दै आएको संस्थाको पहलमा सञ्चालन गरिएको हो।

तालिममा दाङका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र गढवा गाउँपालिकासहित बाँके जिल्लाबाट करिब ३० जना महिलाको सहभागिता रहेको थियाे। विभिन्न उमेर समूह र फरकफरक सामाजिक पृष्ठभूमिका महिलालाई एउटै मञ्चमा ल्याएर अन्तरपुस्ता संवाद, अनुभव आदानप्रदान तथा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार तालिमले विभिन्न पुस्ताका महिलाबीच आपसी समझदारी अभिवृद्धि गर्नुका साथै सीप विकास र सामूहिक नेतृत्व निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय तहमा सक्रिय महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा समुदायस्तरमा काम गरिरहेका महिलाको उल्लेखनीय सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको थियाे ।

तालिमको पहिलो दिन लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी परिचय र अवधारणामाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले समाजमा विद्यमान लैङ्गिक विभेद, संरचनागत असमानता तथा निर्णय प्रक्रियामा महिलाको न्यून प्रतिनिधित्वजस्ता विषयमा आफ्नो धारणा राखेका थिए।

त्यसैगरी, अपाङ्गता भएका महिला तथा सीमान्तकृत समुदायका महिलाको सहभागिता सुनिश्चित गर्न आवश्यक नीति, कार्यक्रम र व्यवहारिक अभ्यासका विषयमा अन्तरक्रिया गरिएको थियो।

आयोजकका अनुसार तालिमको दोस्रो दिन नेतृत्व विकास, अधिकार सचेतना, नीति पैरवीका रणनीति तथा अन्तरपुस्ता सहकार्यका विषयमा समूहगत छलफल र प्रस्तुति भएको थियाे। तालिमकाे प्रशिक्षकमा रिता साह रहनु भएको थियाे।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्