दाङको तुलसीपुरमा प्रहरी हवलदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक विद्यार्थी घाइते



दाङको तुलसीपुरमा प्रहरी हवलदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक विद्यार्थी घाइते भएकी छन्।
शुक्रबार बिहान करिब ११ बजेतिर तुलसीपुरस्थित कारागार कार्यालयमा कार्यरत प्रहरी हवलदार भरत थारुले चलाएको भे १४ प १६१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
गुल्मचोकको जेब्राक्रसमा बाटो काट्दै गरेकी सल्यान घर भई हाल तुलसीपुर–८, दुधेनामा बस्दै आएकी १९ वर्षीया मुना बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनको देब्रे खुट्टा भाँचिएको छ भने टाउकोमा समेत चोट लागेको छ।
घाइते बुढाथोकीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उनी हिमाल एकेडेमीकी कक्षा १२ की विद्यार्थी हुन् र यही वैशाख १४ गतेदेखि सुरु भएको परीक्षामा सहभागी हुने तयारीमा थिइन्।
यस्तै, मोटरसाइकल चालक ४१ वर्षीय प्रहरी हवलदार भरत थारु पनि दुर्घटनामा घाइते भएका छन्। उनको बाँया खुट्टा र हातमा चोट लागेको छ। थारु बर्दिया, बढैयाताल गाउँपालिका–६ निवासी हुन्।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्