वैदेशिक रोजगारीमा महिलाको मृत्यु तथा फर्किएका महिलाका सवाल सम्बोधनमा सरोकारवालाको भूमिका आवश्यक



दाङको तुलसीपुरमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा स्वदेश फर्किएका महिलाको अवस्था, चुनौती र सवाल सम्बोधनमा स्थानीय सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

ओरेक दाङकाे आयाेजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीमा जाने महिलाले भोग्नुपरेका समस्या, श्रम स्वीकृतिको महत्व, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका महिलाका परिवारले पाउने सहायता तथा स्वदेश फर्किएका महिलाको पुनःस्थापनाका विषयमा छलफल गरिएको थियो।

तुलसीपुर उपमहानगरपालिकाको रोजगार शाखा संयोजक अम्बिका पौडेलले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा र श्रम स्वीकृति नलिई विदेश जाँदा आइपर्ने समस्या तथा जोखिमबारे जानकारी दिनुभयो। उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकामा गत आर्थिक वर्षमा घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा गएका १५/१६ जना महिलाको मृत्यु भएको तथ्याङ्क रहेको छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको कुनै कारणवश मृत्यु भएमा नेपाल सरकारले २५ हजार रुपैयाँ सहायता उपलब्ध गराउने व्यवस्था रहेको पनि पौडेलले जानकारी दिनुभयो।

ओरेक दाङकी संयोजक कल्पना चौधरीले दङ्गीशरण, शान्तिनगर र तुलसीपुरमा वैदेशिक रोजगारीसम्बन्धी सन्देश प्रवाह गर्नुका साथै समस्यामा परेका महिलाको सहयोग र समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

वैदेशिक रोजगारीमा जाने महिलाका लागि आर्थिक चुनौती, संरचनात्मक असमानता तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुनु प्रमुख समस्या रहेको कार्यक्रममा औँल्याइएको थियो। तीनवटा पालिकाका ९ जना महिला वैदेशिक रोजगारीका क्रममा विदेशमै मृत्यु भएको तथ्याङ्क समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।

साे अवसरमा शान्तिनगर गाउँपालिका वडा नम्बर ३ की कमला गन्धर्व वैदेशिक रोजगारीका क्रममा समस्या भोगेपछि माइती नेपालको सहयोगमा स्वदेश फर्कन सफल भएको अनुभव सुनाउनुभयो।

त्यस्तै, तुलसीपुरकी पार्वती पुनले पनि वैदेशिक रोजगारीका क्रममा भोगेका समस्याबारे आफ्नो अनुभव सुनाउनुभयो। आप्रवासी श्रमिक सञ्जालका यज्ञबहादुर रावतले वैदेशिक रोजगारीका क्रममा धेरै समस्या भोगेपछि नेपाल फर्कन बाध्य भएको र ओरेकको सहयोगमा अहिले आफ्नै ठाउँमा पुनःस्थापित भएर बस्न पाएको बताउनुभयो।

तुलसीपुर उपमहानगरपालिकाकी निमित्त प्रशासन प्रमुख विष्णुकुमारी आचार्यले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक विधि र प्रक्रिया बुझेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले वैदेशिक रोजगारीमा जाने नागरिकले सरकारले बनाएका कानुन तथा नीतिको पालना गर्नुपर्ने बताउनुभयो। समस्या भए त्यसको समाधान पनि सम्भव रहेको भन्दै उहाँले वैदेशिक रोजगारीमा जानुअघि आफ्नो क्षमता र सीप विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

आप्रवासी श्रमिक सञ्जाल पालिकास्तरीय संयोजक प्रेमलाल खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओरेक दाङकी पूजा विकले सहजीकरण गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्