
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १५ औं साधारणसभा तथा ९ औं अधिवेशन भदौ २१ गते हुने भएपछि नेकपा एमालेले अध्यक्ष पदका लागि जीत बहादुर खडकालाई अघि सारेको छ।
तुलसीपुरको दोघरेमा बसेको पार्टीको भेलाले सर्वसम्मत निर्णय गर्दै खडकालाई अध्यक्ष पदमा उठाउने टुंगो लगाएको हो। खडका यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा कोषाध्यक्षमा विजयी भई एक कार्यकाल सफलतापूर्वक पूरा गर्नु भएको छ।
अन्य पदाधिकारी र सदस्यको टुंगो भने पछि लगाइने नेकपा एमाले जिल्ला कमिटी दाङका प्रचार विभाग संयोजक संगित बस्यालले जानकारी दिनुभयाे ।
भेला नेकपा एमाले निर्वाचन कार्यदलका संयोजक मेघराज भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रमुख अतिथि बस्नेतले खडकालाई जितको अग्रिम शुभकामना दिँदै सक्रियताका साथ पार्टीको लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिनुभएकाे छ।

