
तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिँदै दर्ता बिनै सञ्चालनमा रहेका व्यवसायलाई औपचारिक दर्ता प्रक्रियामा ल्याउने अभियान सुरु गरेको छ।
मङ्गलबार उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठको नेतृत्वमा बसपार्क क्षेत्रमा गरिएको अनुगमनमा २२ वटा पसल जाँच गरिएको र १६ वटा पसलको दर्ता तथा नविकरण गरी ८८ हजार ७५० रुपैयाँ राजश्व संकलन गरिएको छ।
अनुगमनका क्रममा धेरै व्यवसाय उपमहानगरमा दर्ता बिनै सञ्चालनमा रहेको भेटिएपछि तत्काल फिल्डमै दर्ता र नविकरण गरिएको थियो। साथै, फुटपाथमा सामान राख्ने व्यवसायीलाई तीन दिनभित्र हटाउन निर्देशन दिइएको छ।
तुलसीपुर–५ का कार्यवाहक वडाअध्यक्ष भिमबहादुर केसीले फुटपाथ मिचेर व्यवसाय नगर्न आग्रह गर्दै अटेर गरेमा सामान जफत गरिने चेतावनी दिनुभयाे ।
अनुगमन टोलीमा उपमहानगरका विभिन्न शाखा, वडा प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी थिए। उपमहानगरपालिकाले बुधबार पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

