दाङमा दुई टिप्पर ठोक्किँदा दुई चालक घाइते



दाङको बंगलाचुली गाउँपालिका ३ मेरडाँडा थालखानीमा आज दिउँसो करिब साढे ३ बजे दुई टिप्पर एक आपसमा ठोक्किँदा दुई जना चालक घाइते भएका छन्।

थाराबाट चुनढुड्गा लिएर सम्राट सिमेन्टतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ख ०२२८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आएको रा १ ख ७९ नम्बरको टिप्पर ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा माण्डवी गाउँपालिका २ का २५ वर्षीय चालक विकास पुन मगर र सरुमारानी गाउँपालिका ३ का ३६ वर्षीय चालक प्रेमबहादुर बराल घाइते भएका छन्। पुन मगरको दुबै हातखुट्टा चोटिएको छ। दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चुनढुड्गा बोकेको ०२००१ ख ०२२८ नम्बरको टिप्पर करिब १० मिटर सडकबाट तल खसेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्