वडा सदस्य पाैडेलले लिए दुई बालबालिकाकाे अभिभावकत्व ग्रहण




गोकर्ण पौडेल

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शशीधर पौडेलले विपन्न परिवारका दुई बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरी अभिभावकत्व ग्रहण गर्नुभएको छ।

नेकपा एमालेबाट निर्वाचित पौडेलले सोही वडास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सलिना चौधरी र हेमन्त मल्ललाई पठनपाठनका लागि आवश्यक शैक्षिक सामग्री, कापी, कलम, अतिरिक्त कक्षाको शुल्कलगायत व्यवस्था गर्नुभएको हो।वडा सदस्य पौडेलले विद्यालय प्रशासनसँग समन्वय गरी विपन्न समुदायका बालबालिकाको विवरण संकलन गरेर उनीहरूको शिक्षाको प्रबन्ध मिलाउनुभएको छ। उहाँले सलिना र हेमन्तलाई कक्षा १२ सम्मको अध्ययनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सलिनाकी आमालाई विद्यालयमै पुगेर पौडेलले नगद सहयोग हस्तान्तरण गर्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापक रूपेश गुप्ताले जनप्रतिनिधिको यस्तो पहलले विपन्न बालबालिकाको शिक्षामा ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँले जेहेन्दार र अनुशासित विद्यार्थीका लागि विद्यालयले यस्ता अवसर प्रदान गर्दै आएको उल्लेख गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक गुप्ताले पौडेलको यो कार्यले समुदायमा शिक्षाको महत्व र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयाे ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्