तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई पक्राउ




दाङको तुलसीपुरमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका५ बिरेन्द्र चोकमा बिहीबार राति करिब साढे ९ बजेतिर भएको घटनासम्बन्धी अनुसन्धानका क्रममा तुलसीपुर ४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर ६ गाइडरका २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यसअघि तुलसीपुर ७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेत पक्राउ परिसकेका छन्। हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको र अन्य संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, शान्तिसुरक्षा र सामाजिक सद्भावमा असर पर्ने गतिविधि नगर्न सबैलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्