किवानिस वेस्ट नेपाल तुलसीपुर शाखाद्वारा दुर्गम विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण




तुलसीपुर उपमहानगरपालिका ३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई किवानिस वेस्ट नेपाल तुलसीपुर शाखाले शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले शैक्षिक सामग्री सहयोग गरेकोमा किवानिस वेस्ट नेपाललाई धन्यवाद व्यक्त गर्दै विद्यालयमा खानेपानी, शौचालय, खेलमैदानलगायत अन्य भौतिक पूर्वाधारको समस्या रहेको बताउनुभयो।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमुना विकले २०१७ सालमा स्थापना भएको विद्यालयको अवस्था अझै पनि अपेक्षाकृत सुधार हुन नसकेको बताउनुभयो। उहाँले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि सम्बन्धित निकाय तथा सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिनुभयो।


किवानिस वेस्ट नेपाल दाङ तुलसीपुर शाखाका अध्यक्ष कोमल वलीले विद्यालयका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो। उहाँले दुर्गम क्षेत्रमा रहेको विद्यालयको भौतिक तथा शैक्षिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो।
दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा अध्ययन गर्न बयाले, भ्यूडर, केराघारी, हल्दे, लङ्के, बराहथान, लालपुर र हिरापुरलगायतका स्थानबाट विद्यार्थीहरू घण्टौँ हिँडेर आउने गरेका छन्। विद्यालय पुग्न करिब डेढ घण्टा पैदल हिँड्नुपर्ने भएकाले विद्यार्थीहरू बिहानै घरबाट हिँड्नुपर्ने अवस्था रहेको बताइएको छ।
विद्यालयमा हाल तीन जना शिक्षक र तीन जना शिक्षिका गरी ६ जना शिक्षक कार्यरत छन्।
कार्यक्रमको सहजीकरण किवानिस वेस्ट नेपाल तुलसीपुर शाखाका सचिव जितबहादुर खड्काले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्