
अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन्।
कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको लु.प्र. ०२–००१ ज ०१५९ नम्बरको ईभी गाडी शनिबार राति करिब ९ बजेर १५ मिनेटमा सडकबाट करिब १५–२० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा गाडी चालक दाङको राप्ती गाउँपालिका–१ पुलचोक निवासी ३२ वर्षीय उज्वल शाक्य गाडीमा च्यापिएका थिए।
घटनालगत्तै सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय भालुवाङको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। उद्धार टोलीले राति १० बजेर २५ मिनेटमा शाक्यलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
उद्धारपछि शाक्यलाई एम्बुलेन्समार्फत उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएको थियो। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार

