
विश्व प्रेस स्वतन्त्रता दिवसमा आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशका अवसरमा तुलसीपुरमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम भएको छ । मानव अधिकार तथा शान्ति समाज दाङको आयोजनामा ‘मर्यादित एवं व्यवसायीक पत्रकारिता :केन्द्रविन्दुमा पत्रकारको सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बाेल्नु बक्ताहरुले पत्रकारिता पेशा मर्यादित संगै व्यवसायीक बन्नुपर्नेमा जोड दिएका थिय । मूलधारका मिडियाबाट प्रकाशन तथा प्रसारण हुने सामग्री भन्दा सामाजिक सञ्जालका सामग्रि विश्वास गर्ने वातावरण बन्दा पत्रकारिता ब्यवसायिक बन्न नसकेको उनिहरुकाे भनाई थियाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका सहसचिव दिप्तिशिखा चाैधरीले ब्यवसायिक पत्रकारिता स्थापित गर्न पत्रकारहरुमा निश्पक्षता हुन आवश्यक रहेकाे बताउनुभयाे । श्रमजिवी पत्रकारहरुका लागि महासंघले आवाज उठाइरहेकाे भन्दै अब मिडिया संचालकहरु पनि यस बिषयमा गम्भीर हुनुपर्ने बताउनुभयाे । पत्रकारहरुकाे स्वास्थ्य उपचारका लागि दुर्घटना विमा उपलब्ध गराउदै आएकाे भन्दै पत्रकार महासंघ दाङ मिडिया हाउसलाई झक्झकक्याउन पत्रकारहरुका लागि पारिश्रमिक निर्धारण गर्न र मिडियाहरुलाइ बिश्वसनिय बनाउन प्रदेश स्तरिय मिडिया सम्मेलन गरेकाले बिभिन्न बिषयमा भएका बहसलाइ कार्यान्वयन गर्न सबै आ – आफ्नाे क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले पत्रकारहरु राजनीतिमा बढि हावि भएकोले निश्पक्ष पत्रकारिता हुन नसकेकाे बताउनुभयाे ।
पत्रकार भरतराज शर्माले जिवनको अन्त्यसम्म सम्मानित भएर बाँच्न मर्यादित पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले पेशागत सुरक्षा तथा उचित पारिश्रमको भूमिका निर्वाह गर्न नसक्दा पत्रकारहरु पेशाबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
पत्रकार सुनिल कुमार पाखरेलले पत्रकारहरु सँधै निष्पक्ष र स्वतन्त्र हुनुपर्ने धारणा राख्नुभयो । पत्रकारहरु कुनै न कुनै दलहरुसंग आवद्ध हुँदा पत्रकारिता स्वतन्त्र बन्न नसकेको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाज दाङका कार्यवहाक सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिव निर्मल नेपालीले पत्रकारिता समाज विकासको आधार भएकाले मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकार र सञ्चार क्षेत्र एक सिक्काका दुई पाटा रहेकाले सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

साे अवसरमा प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जा,बालाराम खड्का,एकराज भण्डारी, बसन्त पौडेल लगाएतले स्वतन्त्र पत्रकारिता आजको आवश्यक्ता रहेको बताउनुभएको थियो । कार्यक्रमको सहजिकरण मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति शुसिल बस्नेतले गर्नुभएको थियो ।

