जुम्लामा जलविद्युतको पावर हाउस भासिदा एकै परिवारका ३ जनाको ज्यान गयो



जुम्लामा विद्युतको पावर हाउस भत्किँदा एकै घरका तीन जनाको मृत्यु

जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

हिमा गाउँपालिका १ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको ज्यान
गएको हो ।

राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको ज्यान गएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिनुभयो ।

उहाका अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् ।

 

तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना पावर हाउसभित्र सुतिरहेका थिए । गोरक भने काम विशेषले बाहिर गएका थिए ।

पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो ।

शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रजिअ रिजालले बताउनुभयो।

 

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्