दाङ को तुलसीपुरमा आज शुक्रबार वृक्षारोपण गरिएको छ । नगरको वातावरणिय स्वच्छता र सुन्दर सहरका लागि तुलसीपुर घोराही रोडमा विभिन्न सौन्दर्य प्रजाति तीन सय बिरुवा रोपिएको हो ।
रोपेको बिरुवा आफैले संरक्षण गर्ने गरी मानसरोबर होटलदेखि हात्तिखौवा चोकसम्म कपुर, गुलमहर, गुलाव लगायत सौन्दर्य प्रजातिका बिरुवा रोपिएको नगरका वातवरण तथा विपद व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारीले जानकारी दिनुभयो ।
ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर अभियान अन्तरगत तुलसीपुरका विभिन्न ठाउँमा विरुवा रोप्ने रोप्ने काम भइरहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख टिकाराम खड्काको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस निता गौतम दिक्षितको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो । मुख्य न्यायधिस गौतमले हरेक ठाउँ प्रदुषणमुक्त हुनुपर्ने बताउनुभयो । उहाँले नगरलाई प्रदुषणमुक्त बनाउन वृक्षारोपण आवश्यक भएजस्तै अदालतमा पनि सबैले न्याय पाएको अनुभूति गर्ने गरि न्याय सम्पादन गरिरहेको बताउनुभयो ।
नगरप्रमुख खड्काले बिरुवा रोप्नेमात्रै भन्दा बिरुवाको संरक्षण बढी आवश्यक भएकाले आफुले रोपेको बिरुवाको आफै संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा संविधान सभा सदस्य बुद्धिराम भण्डारीले नगरलाई सुन्दर र स्वच्छ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नगरप्रमुख खड्का सहित उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, सरसफाई अभियान्ता बिमल रिजाल , सुरक्षा निकाय लगायतले वृक्षारोपण गरेको नगरका सरसफाई शाखा प्रमुख माधव पौडेलले जानकारी दिनुभयो ।