दाङ जिल्लाका लागि दीर्घकालीन सपना जस्तो बनेको टरिगाउँ विमानस्थल निर्माण अब टाढा छैन भन्ने विश्वास पुनः बलियो बन्दै गएको छ। पूर्व सांसद कोमल वलीले प्रधानमन्त्री समक्ष विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजनको माग पुनः औपचारिक रूपमा प्रस्तुत गर्नु भएको छ ।
वलीले सामाजिक सञ्जाल फेसवुकमा लेख्दै जानकारी दिनुभएको छ – “टरिगाउँ विमानस्थलको आवश्यकता र सम्भाव्यता बारे प्रधानमन्त्रीलाई पहिलेदेखि नै जानकारी छ र उहाँले यस विषयमा गहिरो चासो व्यक्त गर्दै दाङको समग्र विकासका लागि विमानस्थल अत्यावश्यक रहेकोमा सहमति जनाइसक्नुभएको छ।”
बजेट निर्माणको अन्तिम चरणमा सरकार पुग्दै गर्दा, उहाले पुनः आग्रह गर्दै टरिगाउँ विमानस्थलको लागि बजेट सुनिश्चित गर्न माग गर्नु भएको छ। उहाको भनाइमा यो माग केवल भौतिक पूर्वाधार निर्माणको लागि मात्र होइन, दाङबासीको दीर्घकालीन सपना साकार पार्ने अभियानको निरन्तरता हो।
वलीका अनुसार टरिगाउँ विमानस्थल परियोजना नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलको पहलमा अघि बढ्दै आएको हो। तर यस महत्त्वपूर्ण परियोजनाको सफलताका लागि सबै तहका जनप्रतिनिधि र सरोकारवाला पक्षको सक्रिय सहभागिता र सतत् पहल अपरिहार्य रहेको उहाँले स्पष्ट पार्नुभएकाे छ ।
“हामी विश्वस्त छौं—महासचिवज्यूको सशक्त नेतृत्व र केन्द्र सरकारको प्रतिबद्धतामा आधारित रही यसपटक सरकारले विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नेछ।”
उहाका अनुसार टरिगाउँ विमानस्थल केवल एक पूर्वाधार होइन, दाङको आर्थिक, सामाजिक र रणनीतिक उचाइतर्फको अग्रसरताको प्रतीक हो। दाङ पश्चिम नेपालको तीव्र गतिमा विकास भइरहेको जिल्ला हो, जसलाई यातायातको आधुनिक पहुँचले अझ गति दिनेछ। विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक र बाह्य पर्यटकको आगमनसँगै व्यापार, रोजगारी र समग्र क्षेत्रीय विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ।
स्थानीय बासिन्दा र दाङका बुद्धिजीवीहरू समेत टरिगाउँ विमानस्थलको निर्माण कार्य प्रारम्भ होस् भन्ने आशामा छन्। विगतमा पनि विमानस्थल निर्माणका लागि विभिन्न चरणमा पहल भएको भए तापनि ठोस कार्यान्वयनमा ढिलाइ भएको हो। यसपटक बजेटमै समेटिएर कार्य अघि बढ्ने हो भने जनतामा आशा र उत्साह थप बलियो हुने निश्चित छ।
कोमल वलीको यो सार्वजनिक अपीलले विमानस्थल निर्माण अभियानलाई पुनः चर्चा र प्राथमिकतामा ल्याएको छ। अब सबैको नजर आगामी बजेट घोषणा र त्यसमा टरिगाउँ विमानस्थल समावेश हुने या नहुनेमा केन्द्रित हुने देखिन्छ।
#जय दाङ !