तुलसीपुरमा खानेपानीको अभाव : मुहानमा १२ वर्ष यताकै ह्रास




वसन्त पाैडेल

तुलसीपुर उपमहानगरपालिका-७ स्थीत चौतारी जलधारा टोलका टेक बहादुर महताराको घरमा तुलसीपुर खानेपानीबाट वितरण भएको धारामा पानी आउन छोडेको एक महिना भयो । उहाँको घरसहित टोलमा अन्य ७ घरका धारामा समेत महिनौदेखि पानि आएको छैन् । गर्मी मौसम बढेपछि पानीको माग बढ्दै गएको छ । तर पानी धारामा आउदैन् ।

ट्याङकरबाट पानी मगाएर भण्डारण गर्न उहाँको घरमा पानी ट्याङ्की छैन् । खडेरीको समय बढेमा यो समस्या अझै विकराल हुने स्थिति देखिन्छ । समस्या समाधानका लागि पटक-पटक खानेपानी कार्यालय पुगेपनि सुनुवाई नभएको महताराले गुनासो गर्नुभयो ।

तुलसीपुर-६ को रजौरामा शरद रेग्मीको घरमा पनि धारामा पानी नआएको एक महिना पुग्यो । उहाँले गत चैत महिनादेखि ट्याङकरबाट पानी मगाएर काम चलाइरहनुभएको छ । खानेपानी समस्या समाधानका लागि संस्थामा जानकारी गराएपनि कुनै चासो नदिएको उहाँले बताउनुभयो । वर्तमान नेतृत्वको असक्षमता र योजनाबिना धाराहरु वितरण हुँदा तुलसीपुरमा खानेपानीको समस्या आएको रेग्मीले बताउनुभयो ।

तुलसीपुर-६ प्रगतिनगर टोलका सोविन्द्र चन्दको घरमा पनि चार दिनदेखी पानी आएको छैन् । धारामा पानी नआउदा दैनिकी चलाउन समस्या भएको उहाँले बताउनुभयो । खानेपानी कार्यालयलाई धेरै पटककोे आग्रहपछि बिहिबार दिउँसो टोलमा एक ट्याङ्कर पानी पुर्‍याइएको उहाँले बताउनुभयो ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका इन्जिनियर सुन्दर कुमार वलीले भने तुलसीपुरमा १२ वर्ष यताकै सबैभन्दा धेरै खानेपानी मुहानको श्रोतमा कमि आएको बताउनुभयो । १२/१३ वर्ष अघि सुख्खा मौसममा ३५ प्रतिशतसम्म पानीको श्रोतमा ह्रास आउने गरेकोमा यसवर्ष पनि बैशाखको दोस्रो सातासम्ममा पानीको स्रोत ४० प्रतिशतले घटेको छ ।

तुलसीपुर खानेपानी संस्थाले अहिले १० हजार ४ सय ५२ धारा उपभोक्तालाई वितरण गरेको छ । वितरित धारामा तुलसीपुरमा दैनिक ९६ लाख ७६ हजार ८ सय लिटर पानी आवश्यक पर्ने इन्जिनियर वलीले बताउनुभयो । गर्मि मौसम बढेपछि पानीको श्रोतमा ह्रास आउदा अहिले दैनिक ५१ लाख ८४ हजार लिटर मात्रै संस्थाले खानेपानी वितरण गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । यस हिसावले तुलसीपुरमा अहिले ४४ लाख ९२ हजार ८०० लिटर पानी अपुग हुने गरेको छ ।

पानी नपरेर लामो समयसम्म यही अवस्था कायम रहे तुलसीपुरमा खानेपानीको समस्या अझै विकराल रहने उहाँको भनाइ छ । अहिले तुलसीपुरका करिब २ सय ८० धारामा केहिदनि यता पानी नै पठाउन नसकिएको इन्जिनियर वलीले बताउनुभयो । संस्थाको रिजर्भ ट्याङकी नहुँदा भण्डारणको समस्या भएपछि सबै धाराहरुमा पानी पठाउन नसकिएको हो ।

सिधै डिपवोरीङबाट धारामा पानी पठाउदा एयर लिने, पानीको चाप नहुने, उचाईमा पानी नचढ्ने जस्ता कारणले सो समस्या देखिएको उहाँले बताउनुभयो । सह-लगानी मार्फत भैरहेको बबई लिफटिङ्गको काम सकिएपछि समस्या समाधानका लागि सहज हुने वलीले बताउनुभयो । तत्कालका लागि संस्थाको एक र भाडामा एकसहित दुई वटा ट्याङ्करबाट समस्या भएका स्थानहरुमा शुक्रबार आजदेखि नै सेवा दिने तयारी भएको उहाँले बताउनुभयो ।

तुलसीपुर खानेपानीको मुहानहरु धैरेनी,पहरे,मुलकोट,बाख्रे,छरछरे लगाएतका क्षेत्रमा पानीको श्रोत घटेपछि पानीको समस्या देखिएको संस्थाका उपाध्यक्ष सितारााम शर्माले बताउनुभयो । तुलसीपुर खानेपानी संस्थाले सञ्चालन गरेका १६ वटा डिपबोरीङरुमा पनि पानीको श्रोत उत्पादनमा ३० प्रतिशतले ह्रास आएको छ ।

उहाँले मौसम परिवर्तन भएर पानी पर्याप्त नहुँदा सम्म समस्या परेका वस्तीहरुमा ट्याङकरबाट पानी वितरण गरिने बताउनुभयो । साथै पानी नभएर समस्या भएका ठाँउका उपभोक्ताले संस्थामा जानकारी गराए तत्कालै ट्याङकरबाट पानी पठाइने उपाध्यक्ष शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्