घोराही उपमहानगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतीथी नरुलाल चौधरीले आदिवासीका रुपमा रहेको थारु समुदायभित्र धेरै सम्भावना हुँदाहुँदै पनि सामाजिक, आर्थिक र राजनीतिक रुपमा निकै पछि परेको हुँदा अब यसको प्राप्तिका लागि थारु समुदाय एक ठाउँमा उभिन आवश्यक रहेको चर्चा गर्नुभएको छ। यसको प्राप्तिका लागि थारु कल्याणकारिणी सभा जस्ता संस्थाले पैरवी गर्नुपर्ने उहाँको भनाई थियो । थारु कल्याणकारिणी सभा दाङ देउखुरीको १७ औँ जिल्ला अधिवेशनमा नगरप्रमुख चौधरीले यस्तो बताउँनुभएको हो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले थारु जाति कला संस्कृतिमा धनी भएपनि यसको उचित व्यवस्थापन हुन नसक्दा पछि परेको बताउनुभयो । आफुसँग भएको कला संस्कृतिको जगेर्ना गर्दै सकारात्मक पक्षलाई व्यवस्थापन गर्न सकेमा आर्थिक समृद्धि सम्भव रहेको उहाँको भनाई थियो । थारु जाती पछौटेपनलाई त्याग्न नसक्नु र यसलाई ग्रहन गरिरहेका कारण जुरुराउँन नसकेको उहाँको धारणा थियो ।
नेपालको संविधानले थारु जातिका हक अधिकारका बारेमा बोलेपनि कार्यान्वयन पक्ष कमजोर भएको हुँदा अधिकार प्राप्तिका लागि युवा सशक्तीकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले थारु समुदायमा हिजोभन्दा आज परिवर्तन भएको छ तर यो पर्याप्त छैन, यसका लागि सचेतना वृद्धिसँगै आत्मनिर्भरको बाटोमा अग्रसर हुनुपर्ने बताउँदै अहिले पनि राज्यका विभिन्न निकायमा थारु समुदायको प्रतिनिधित्व निकै कमजोर रहेकाले पहुँच बढाउन सरोकार सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
यसैगरी, स्थानीय सरकारको रुपमा रहेको घोराही उपमहानगरपालिकाले थारु समुदायको समग्र उत्थानका लागि गम्भीर रहेको हुँदा समुदाय पनि यसको लाभ उठाउन तल्लीन हुनुपर्ने तर्क गर्नुभयो ।
सो अवसरमा बोल्ने बक्ताहरुले थारु कल्याणकारिणी सभाले संस्थाको अवस्थाको समीक्षा गर्दै प्रशासनिक अवस्था, राज्यको पुनर्संरचना, २०७२ को संविधानले निर्दिष्ट गरेको व्यवस्थालाई केलाउँदै संगठन निर्माण, जागरण अभियानमा केन्द्रित हुनुपर्ने बताउदै आर्थिक, सामाजिक, सांस्कृतिक, रुपान्तरण र राजनीतिक सचेतना बढाउँदै समुदायमा सदियौँदेखि रहेको बडघर, महटवाँ जस्ता सकारात्मक प्रथाको जीवन्तताका लागि पैरवी गरिनुपर्ने आवाज उठाएका छन् । सांस्कृतिक संरक्षणसँगै सामाजिक, आर्थिक र राजनीतिक न्यायका लागि देशभरका थारु समुदाय अब कुनै पनि बहानामा पछि पर्न नहुने उनीहरुको धारणा थियो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य यशोदा चौधरी, पूर्व केन्द्रीय सदस्य सोगतबीर चौधरी, पूर्व सांसद गंगा सत्गौवाँ, ग्रामीण महिला उत्थान केन्द्रकि अध्यक्ष आशमानी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टीको प्रदेश प्रमुख शान्ता चौधरी, राष्ट्रिय थारु कलाकार मन्चको कार्यक्रम संयोजक श्री चौधरी, जिल्ला सल्लाहकार रामबहादुर दहित, क्षेत्र नम्बर १ का सभापति प्रकाशकुमार चौधरी, नेवार समाजको सचिव विवेक श्रेष्ठलगायतले संस्थाले विगतदेखि उठाउँदै आएको मुद्दा सार्थक बनाउन लागीपर्ने बताए ।
जिल्ला अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा उद्घाटन शत्र सम्पन्न भएको हो । जिल्ला सदस्य शालिकराम चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव प्रकाश चौधरी सहसचिव प्रणव चौधरीले गर्नुभएको थियो । संस्थाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्दैछ ।