दुई दिने नमुना संसद बैठक सम्पन्न , ३३ बुँदे ‘तुलसीपुर घोषणापत्र पारित’



तुलसीपुरमा संचालित शान्ति नमुना महिला सांसदहरुको संसद बैठक आज सम्पन्न भएको छ । बैठकले ३३ बुँदे ‘तुलसीपुर घोषणापत्र परित’ गरेको छ । दुई दिनसम्म संचालन भएको संसदले ३३ बुँदे घोषणा पत्र पारित गरेको हो ।

शान्ती महिला नमुना सांसदहरुको दुई दिनसम्म चलेको संसद बैठकले तुलसीपुर घोषणापत्र पारित गरी आज सकिएको हो । घोषणा पत्र तुलसीपुरलाई आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणमा सहयोग पुग्ने उद्देश्यले पारित गरिएको छ।

तुलसीपुर उपमहानगरपालिका भित्रका महिला जनप्रतिनिधि, महिला अधिकारकर्मी, निवर्तमान महिला जनप्रतिनिधि लगायतले नमुना महिला संसदमा भाग लिएका हुन् । संसद बैठक सञ्चालन गर्दा विभिन्न विषयगत समितिका तर्फबाट पेश भएका प्रतिबेदन तथा संसदको शून्य समय, विशेष समय तथा प्रतिवेदनमाथि भएका छलफलका सवाल घोषणापत्रमा समेटिएको छ ।

घोषणापत्रमा सुचना, संचार समन्वय तथा साझेदारी विकास अन्तर्गत सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई गर्नुपर्ने, मोबाईल एपमा ई(सिफारीससहित जनगुनासो टिपाउने व्यवस्था, नागरिक बडापत्र, कर तिर्ने ब्यबस्था, बजेट कार्यक्रम, प्रगति देख्न सकिने व्यवस्था मिलाउनुपर्ने समेटिएको छ ।

यस्तै महिलाहरुलाई सबै क्षेत्रमा अग्रसर गराउनका लागि अन्तरपार्टी महिला सञ्जाललाई सक्रिय बनाउनका लागि आवश्यक निति तथा बजेटको ब्यबस्था गनुपर्ने उल्लेख छ । यस्तै तुलसीपुर उपमहानगरपालिका भित्रका सबै सार्बजनिक स्थलहरु पहुँचयुक्त बनाउनुपर्ने, उपमहानगरपालिकामा सम्पुणर् वडाबाट प्रतिनिधित्व हुनेगरी निशुल्क रुपमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्नका लागि आवश्यक पहल लिने लगायतका विषय घोषणापत्रमा समेटिएको छ ।

सम्पतिमा महिलाहरुको समान अधिकार स्थापनाका लागि जागरण अभियान सञ्चालन गर्नुपर्ने, उपमहानगरपालिका भित्रका पुरातात्वीक महत्वका विभिन्न मठ मन्दिर पाटी पौवा धर्मशाला गुठि गौचरण, गौशाला, पोखरी जस्ता सम्पदाहरुको संरक्षण गर्नुपर्ने लगायतका विषय समेटिएको छ ।

संसदले पारित गरेको घोषणापत्र तुलसीपुर उपमहानगरपालिकालाई बुझाउने नवजगरण महिला तथा बाल संरक्षण केन्द्रका अध्यक्ष तथा संसद बैठकका सल्लाहकार नवराज लामीछानेले जानकारी दिनुभयो।

न्यूसीपीसीका अध्यक्ष नवराज लामिछानेको अध्यक्षता तथा नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । त्यस अवसरमा नगरउपप्रमुख चौधरीले नमुना संसद बैठकले महिलाको नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो ।

समापन कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी, निवर्तमान नगरउपप्रमुख माया आचार्य, बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सावित्रा विश्वकर्मा लगायतले शान्ति नमुना महिला संसद संचालनले महिलालाई नेतृत्वमा आउन उत्साह थपेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको हो ।

संसदमा गरिने अभ्यास गरि महिला नेतृत्वको विकास गराउने उद्धेश्यले नवजगरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालीकाको सहयोगमा शान्ति नमुना महिला संसद संचालन गरिएको हो । नमुना संसदमन ७ जना बिषयगत समिति र अन्य गरि ५८ जना सांसद छन् ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्