बसन्त पाैडेल
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा २५ करोड ८२ लाख ८१ हजार बढी अर्थात २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको हो ।
चालु वर्षको माघ मसान्तसम्म लक्ष्यको ८२ दशमलव ५० प्रतिशत राजस्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कार्यालय प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षमा १ अर्ब ७२ करोड ८७ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो, तर करदाता सेवाग्राहीले समयमै आय विवरण पेश र कर दाखिला नगर्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको प्रमुख टण्डनले जानकारी दिनुभयो । उहाँका अनुसार चालू वर्षको ७ महिनाको अवधिमा ३० करोड १४ लाख १८ हजारले लक्ष्य भन्दा कम राजस्व संकलन भएको हो ।
कार्यालय प्रमुख टण्डनका अनुसार स्थायी लेखा नम्बर प्रमाणपत्र (एब्ल्) मा दर्ता भएका ४२ हजार ३०२ र मूल्य अभिवृद्धि कर (vat) मा दर्ता भएका ५ हजार १७४ गरि जम्मा ४७ हजार ४७६ करदाता सेवाग्राही रहेका छन् ।
दर्ता भएका आधाभन्दा धेरै अर्थात २२ हजार ८३० करदाता सेवाग्राहीहरूले समयमै आय विवरण पेश तथा कर दाखिला नगरेका कारण लक्ष्यअनुसारको रकम संकलन हुन नसकेको प्रमुख टण्डनले जानकारी दिनुभयो । जसमध्ये स्थायी लेखा प्रमाणपत्र (pan) प्राप्त २१ हजार ३३४ र मूल्यअभिवृद्धि (vat) मा दर्ता भएका १ हजार ४९६ करदाता रहेका छन् ।
स्थायी लेखा प्रमाणपत्र लिएका तर समयमै आय विवरण पेश तथा आयकर दाखिला नगर्ने करदाताहरूको सङ्ख्या घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै ७ हजार ३२५ रहेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा ६ हजार ४९२, लमही नगरपालिकामा २ हजार ९, राजपुर र राप्ती गाउँपालिकामा समान १ हजार १३९ रहेको छ।
यस्तै गढवा गाउँपालिकामा १ हजार १३५, शान्तिनगर गाउँपालिकामा ५५६, दङ्गीशरण गाउँपालिकामा ३७३, बङ्गलाचुली गाउँपालिकामा २५१ र सबै भन्दा थोरै बबई गाउँपालिकामा १७ रहेको छ । यस्तै रोल्पाको रुन्टिगढी, त्रिवेणी र गंगादेव गाउँपालिकामा गरी ८९८ रहेको छ ।
मूल्य अभिवृद्धि करमा दर्ता भएका तर समयमै आय विवरण पेश नगर्ने र आयकर नबुझाउने करदाताको सङ्ख्या पनि सबैभन्दा धेरै ६३५ घोराही उपमहानगरपालिकामा रहेको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिकामा ४२७, लमही नगरपालिकामा २०१, गढवा गाउँपालिकामा ६९, राप्ती गाउँपालिकामा ५४, शान्तिनगर गाउँपालिकामा २५, बङ्गलाचुली गाउँपालिकामा २४, राजपुर गाउँपालिकामा १७, बबई गाउँपालिकामा १६ र दङ्गीशरण गाउँपालिकामा ६ रहेको छ भने रोल्पाको रुन्टिगढी, त्रिवेणी र गंगादेव गाउँपालिकामा २२ रहेको छ ।
यसैबीच कार्यालयले फागुन मसान्तसम्म आयकर तथा मूल्य अभिवृद्धि करको आय विवरण पेश तथा करदाखिला गर्ने करदाता सेवाग्राहीलाई छुट गरिएको जनाएको छ ।
कुनै व्यक्तिले विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्ता व्यक्तिले लेखा नम्बर लिई आर्थिक वर्ष २०७८/७९ र ०७९/८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर फाल्गुण मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाह हुने व्यवस्था गरिएको छ । छुटेका करदाता सेवाग्राहीलाई फाल्गुण मसान्त भित्र आय विवरण पेश गर्न र कर बुझाएर जरिवानाबाट बच्न कार्यालय प्रमुख श्रीधर टण्डनले आग्रह गर्नुभएको छ ।
यस्तै स्थायी लेखा नम्बर लिएर आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम फाल्गुण मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा गरिने व्यवस्था रहेको प्रमुख टण्डनले जानकारी दिनुभयो ।
यस्तै २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगरेका मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम फाल्गुण मसान्त भित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याजसमेत मिनाहको व्यवस्था गरिएको छ । सुविधाको उपभोग गर्न सबै सेवाग्राहीहरूलाई उहाँले अनुरोध गर्नुभएको छ ।