लुम्बिनीमा चट्याङकाे कहर,चार वर्षमा ५४ काे मृत्यु करोडौंको क्षति



पछिल्लो चार वर्षको अवधिमा नेपालमा चट्याङका कारण २ सय ३७ जनाले ज्यान गुमाएका छन् भने ९ सय ८ जनाभन्दा बढी घाइते भएका छन्। देशका सबै प्रदेश चट्याङको जोखिममा रहेकाले यस प्राकृतिक प्रकोपबाट हुने क्षति दिनप्रतिदिन गम्भीर बन्दै गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ साल साउनदेखि २०८२ जेठ ५ गतेसम्म देशभर चट्याङका १ हजार १ सय १८ वटा घटना भएका छन्। ती घटनाबाट १ हजार ६ सय ७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार चट्याङ नेपालमा दोस्रो सबैभन्दा बढी जनधन क्षति गराउने विपद् बनेको छ।

“विश्वव्यापी सन्दर्भमा हेर्दा नेपाल चट्याङको जोखिमका आधारमा पाँचौं स्थानमा पर्छ,” श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार विशेषगरी बर्खायाममा किसानहरू खुला ठाउँमा काम गर्दा चट्याङको चपेटामा पर्न अधिक सम्भावना हुन्छ। चट्याङ प्रायः घरगोठ, अग्ला रुख, बिजुलीका टावर तथा खुला मैदानमा पर्ने गर्छ।

लुम्बिनीमा सबैभन्दा बढी क्षति

चट्याङबाट सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेश रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। पछिल्लो चार वर्षमा लुम्बिनीमा १ सय ८० वटा चट्याङका घटना भएका छन्, जसबाट ५४ जनाको मृत्यु भएको छ। साथै, चट्याङबाट तीन करोड ४९ हजार रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। यस प्रदेशमा २ सय ७६ परिवार प्रभावित भएका छन्।

अन्य प्रदेशको अवस्था

अन्य प्रदेशहरूमा पनि उल्लेख्य जनधनको क्षति भएको छ। सुदूरपश्चिम प्रदेशमा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले चट्याङका कारण ज्यान गुमाएका छन्।

घाइते हुनेको संख्यामा कर्णाली प्रदेश सबैभन्दा अगाडि देखिएको छ। त्यहाँ २ सय ७ जना घाइते भएका छन् भने सुदूरपश्चिममा १ सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेश प्रदेशमा २८ जना घाइते भएका छन्।

मौसमको प्रभाव

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. मदन सिग्देलका अनुसार चट्याङ बढी चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा हुने गर्छ। “यस अवधिमा वायुमण्डलीय अस्थिरता उच्च हुने भएकाले चट्याङका घटना बारम्बार दोहोरिन्छन्,” उहाँले बताउनुभयो।

पूर्वतयारी र सचेतना आवश्यक

विज्ञहरूका अनुसार नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा चट्याङको जोखिम न्यून गर्न पूर्वतयारी र जनस्तरमा सचेतना अभिवृद्धि गर्नु अत्यावश्यक छ। सुरक्षित संरचना निर्माण, चट्याङ निवारक प्रणालीको प्रयोग, मौसम पूर्वानुमानको प्रभावकारी प्रचारप्रसार र जनतालाई सुरक्षित रहने उपायहरूको प्रशिक्षणमार्फत क्षति न्यूनीकरण सम्भव हुने प्राधिकरणको भनाइ छ।

नेपालमा जलवायु परिवर्तनको प्रभावसँगै विपद् जोखिम पनि थप बढ्दै गएको देखिएको छ। यस्तोमा, चट्याङ जस्तो प्रकोपलाई गम्भीरतापूर्वक लिइ उचित नीतिगत तयारी नगरेमा जनधनको क्षति झनै भयावह हुन सक्ने संकेत विज्ञहरूले दिएका छन्।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्