नेपाल पत्रकार महासंघ दाङ शाखाको २३औँ साधारण सभा तथा नववर्ष २०८३ शुभकामना आदानप्रदान सम्पन्न



नेपाल पत्रकार महासंघ दाङ शाखाको २३औँ वार्षिक साधारण सभा तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल ले पत्रकारितालाई सशक्त बनाउन सञ्चारकर्मी आफैँ सुधारिनु आवश्यक रहेको बताउनुभयो। उहाँले अन्य निकायलाई खबरदारी गर्नुभन्दा अघि आफूभित्र सुधार ल्याउनुपर्नेमा जोड दिँदै ग्रहण गर्ने र सहने संस्कार विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रेसमाथि देखिएको दबाब क्रमशः हट्दै गएको भन्दै उहाँले प्रेस स्वतन्त्रताको रक्षा र सुदृढीकरणका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताउनुभयो। साथै लोकतान्त्रिक मूल्य र मान्यतामाथि भइरहेका प्रहारप्रति सजग रहँदै त्यसबारे जनतालाई स्पष्ट जानकारी गराउने दायित्व सञ्चारकर्मीको रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव सविन प्रियासन ले राज्यका केही नीतिहरू मिडियामैत्री नभएको उल्लेख गर्दै त्यसविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताउनुभयो। राज्यबाट विज्ञापन तथा सूचना नपाए पनि पत्रकारिता नरोकिने उल्लेख गर्दै आवश्यक परे सामाजिक सञ्जालमार्फत पनि पत्रकारिता गर्न सकिने उहाँले धारणा राख्नुभयो।
अन्य वक्ताहरूले नेपालमा पत्रकारिता क्षेत्रलाई जोगाउन आपसी सहकार्य, एकता र निष्पक्ष पत्रकारिताको अभ्यास अपरिहार्य रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा सचिव जे.एन. सागरले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष अमर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै पत्रकार महिलाका लागि “सुरक्षा नीति २०८२” सुशीला आचार्य ले प्रस्तुत गर्नुभएको थियो।
महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष ओपेन्द्र बस्नेतले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष नारायणी रजौरेले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्