तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलामा एक पुरुषको शव कुहिएको अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार शव बुधबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
डिएसपी ठकुरीले जानकारी दिएअनुसार, शवको टाउको र खुट्टा पूर्णरूपमा कुहिएर छुट्टिएको अवस्थामा भेटिएको छ। “शव अत्यन्त कुहिएको अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको छ,” उनले भने,“शव हेर्दा करिब डेढ महिना अघि नै मृत्यु भएको अनुमान गर्न सकिन्छ।”
घटनास्थल नजिकै रहेको बंगुर फर्ममा काम गर्ने कर्मचारीले बिहान शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले तत्काल घटनास्थल पुगेर शव उठाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको जनाएको छ।
हाल घटनाको थप अनुसन्धान भइरहेको डिएसपी ठकुरीले जानकारी दिएका छन्। मृतकको परिचय खुल्न नसकेकोले प्रहरीले डीएनए परीक्षण तथा फरेन्सिक जाँचमार्फत पहिचान गर्ने प्रयास गरिरहेको बताइएको छ।