दिप्तिशिखा चाैधरी
हामीमध्ये कतिलाई थाहा छ? दैनिक थकान, ढाडको दुखाइ, जोर्नीको समस्या केवल उमेरको असर मात्रै होइन, गहिरो हड्डी रोगको संकेत पनि हुन सक्छ। यस्तै गहिरो यथार्थ उजागर भएको छ, हालै तुलसीपुरमा सम्पन्न निशुल्क हड्डी परीक्षण शिविरमा।
“Free Osteoporosis Screening Camp with BMD Scan 2025” नाम दिइएको एकदिने शिविरमा सहभागी २५८ जना अभिभावकमध्ये अधिकांशमा हड्डीको घनत्वमा कमी देखिएको तथ्यले तुलसीपुरमा मौन रूपमा फैलिरहेको हड्डीसम्बन्धी समस्याको तस्वीर उजागर गरेको छ।
शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपेशमान शेरचनद्वारा गरिएको परीक्षण र अन्तरक्रियामा अधिकांशले कमजोरी, थकान, ढाड दुख्ने, घुँडा पीडा, नसासम्बन्धी असहजता जस्ता गुनासोहरू व्यक्त गरेका थिए। अनुसन्धानको दृष्टिकोणले हेर्दा, यी लक्षणहरू केवल एक जनाको होइन, सिंगो समुदायको मौन स्वास्थ्य संकटको प्रतिनिधि हुन्।
ओस्टियोपोरोसिस, जसलाई ‘मौन रोग’ पनि भनिन्छ, शरीरको हड्डीहरू पतला, कमजोर र भंगुर बनाउने अवस्था हो। प्रारम्भिक लक्षणहरू हलुका हुने भएकाले धेरैजसो बिरामीहरू समयमै सजग हुँदैनन्। जबसम्म हड्डी भाँचिँदैन या गम्भीर समस्या आउँदैन, मानिसले चिकित्सक खोज्दैन। यही ढर्रा तुलसीपुरका सयौं अभिभावकहरूमा देखिएको हो।
डा. शेरचन भन्नुहुन्छ -“हामीले परीक्षण गरेका अधिकांश व्यक्तिहरूमा भिटामिन डि को कमी, क्याल्सियमको न्यूनता र गतिहीन जीवनशैलीका कारण हड्डी कमजोर हुने संकेत देख्यौं।”
यो तथ्यले एक प्रश्न उठाउँछ — के ग्रामीण तथा अर्धशहरी समुदायमा हड्डी रोगको संकट मौन रूपमा फैलिँदैछ?
अनुसन्धानका क्रममा स्पष्ट हुन्छ, तुलसीपुरमा स्वास्थ्य शिक्षा र पोषणको पहुँच अझै अपूरो छ। ४० वर्ष माथिका महिलाहरू, विशेषगरी गृहिणीहरू, हड्डी रोगको उच्च जोखिममा छन्। उनीहरू दैनिक घरायसी काममा व्यस्त हुन्छन्, तर उनीहरूको आहारमा न त आवश्यक पोषक तत्व पुग्दछ न त पर्याप्त सूर्यको किरण।
सहभागी, खुमा चौधरी, भन्नुहुन्छ- “हामीले कहिले हाम्रो शरीरको गहिरो जाँच गराएका छैनौं। थकानलाई सामान्य ठानेरै चलिरहेका थियौं। अहिले आएर थाहा भयो — हड्डी त लगभग कमजोर भइसकेछ।”
अर्की सहभागी, तिला वलीकाे अनुभव र भनाइ पनि उस्तै छ, “स्वास्थ्य परीक्षण भनेको सम्पन्न मानिसको कुरा हो भन्ने सोच थियो। यो शिविरले त्यो भ्रम तोडिदियो।”
शिविर सफलतापूर्वक सम्पन्न भएको भए पनि प्रश्न उठ्छ — यस्तो संवेदनशील स्वास्थ्य विषयमा सरकारी सहभागिता किन न्यून छ? ग्रीन फाउण्डेशन नेपाल, मेट्रो सिटी पोलिक्लिनिक, मेट्रो प्याथल्याब र माध्यमिक विद्यालय तुलसीपुर सेन्टर जस्ता संस्था र निजी साझेदारहरूको अगुवाइमा सम्पन्न शिविरमा स्थानीय स्वास्थ्य कार्यालय वा नगरपालिकाको प्रत्यक्ष भूमिका नगन्य थियो।
एक स्थानीय स्वास्थ्यकर्मीले नाम नबताउने शर्तमा भने, “स्वास्थ्य कार्यक्रमको बजेट सीमित छ। यस्ता विशेष परीक्षणहरू स्थानीय तहबाट सहज सम्भव छैन। तर, यस्तै कार्यक्रमहरूको संख्या बढाउन आवश्यक छ।
विशेषज्ञहरू भन्छन्, BMD स्क्यानजस्ता परीक्षण महंगा हुन्छन्, र ग्रामिण वा अर्धशहरी समुदायका लागि नियमित रूपमा प्रयोग गर्न गाह्रो हुन्छ। तर यदि विद्यालय र स्वास्थ्य संस्थाहरूको सहकार्यमा यस्ता शिविरहरू नियमित हुने हो भने सस्तो र प्रभावकारी ढंगमा रोगको पहिचान र नियन्त्रण सम्भव हुन्छ।
कार्यक्रम संयोजक लेखत पौड्याल, GFN का सुरेश रावत, र मेट्रो प्याथल्याबका वसन्त योगी लगायत आयोजकहरूको भनाइमा, “स्वास्थ्य चेतना फैलाउने यस्ता अभियानले रोगसँग लड्न समुदायलाई बलियो बनाउँछ। हामी आगामी दिनहरूमा मधुमेह, रक्तचाप, स्तन क्यान्सरजस्ता विषयमा पनि यस्तै शिविरहरू सञ्चालन गर्ने तयारीमा छौं।”
उनीहरूको विश्वासमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुन सकेमा समुदायमा रोग लागेपछि उपचार खोज्नुभन्दा अगाडि रोग नलाग्ने उपायमा नै ध्यान केन्द्रित हुने र समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ।
तुलसीपुरमा सम्पन्न स्वास्थ्य शिविर केवल एकदिने कार्यक्रम थिएन, यो सिंगो समाजमा मौन रूपमा फैलिरहेको हड्डी रोगको चेतावनी संकेत हो। यो घटनाले देखाएको छ — रोग मौन रहन्छ, जबसम्म हामीले त्यसलाई चिन्ने आँखा पाउँदैनौं। र, यस्ता शिविरहरू ती आँखाहरू खोल्ने पहिलो कदम हुन सक्छन्।