
बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था को ११औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रदीप गौतमको अध्यक्षता तथा टिकाराम खड्का को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले शुद्ध खानेपानी वितरणका लागि तुलसीपुर उपमहानगरपालिका ले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो । उहाँले बेलझुण्डी खानेपानी संस्था पुरानो तथा विश्वासिलो संस्था भएकाले सरकारको लगानी घटाउन र उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन विभिन्न खानेपानी संस्थालाई मर्ज गरी बेलझुण्डी खानेपानी संस्थामार्फत सेवा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
उहाँले साना–साना संस्था खोलेर अध्यक्ष बन्ने मोहमा व्यापार गर्ने नभई सेवामुखी भावना राखेर काम गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अन्य वक्ताहरूले सिमेन्ट उद्योगका कारण वर्षायाममा धमिलो खानेपानी उपभोग गर्न बाध्य हुनुपरेको भन्दै यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएका थिए ।
साे अवसरमा खानेपानी मन्त्रालय महाशाखा प्रमुख गुणनिधि पाेख्रेल, खानेपानी उपभोक्ता सरसफाइ दाङ जिल्ला अध्यक्ष प्रकाशजंग शाह तुलसीपुर खानेपानी उपभाेक्ता सरसफाइ सस्था तुलसीपुरका अध्यक्ष एमकान्त भण्डारी ,घाेराहि खानेपानी उपभाेक्ता सरसफाइ सस्थाका उपाध्यक्ष भरतमणि पाण्डे , नारायणपुर खानेपानी उपभाेक्ता सरसफाइ सस्थाका अध्यक्ष श्रवन कुमार रजाैरे लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियाे ।
सभामा संस्थाका अध्यक्ष प्रदीप गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव मुक्तबहादुर वली ‘मुकेश’ ले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनअनुसार हाल बेलझुण्डी खानेपानी संस्थाबाट १ हजार ८ सय घरधुरीमा सेवा प्रवाह भइरहेको छ । संस्थाले २ हजार १ सय निजी धारा, १९ सार्वजनिक धारा तथा संस्थागततर्फ १५ धारामार्फत खानेपानी वितरण गरिरहेको जनाएको छ ।
साधारण सभाको अवसरमा नियमित रूपमा शुल्क बुझाउने उपभोक्तामध्ये शिवलाल पौडेल, योगेश गुप्तालगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी रोल्पाबाट दाङसम्म खानेपानी ल्याउन विशेष भूमिका निर्वाह गरेको भन्दै भिम बहादुर पुन लाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव मुक्तबहादुर वली ‘मुकेश’ ले गर्नुभएको थियो ।

