नीति, कार्यक्रम तथा बजेट तयारीका लागि सुझाव संकलन



तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारीस्वरूप सरोकारवालाबाट राय सुझाव संकलन गरेको छ।

कार्यक्रममा सहभागी राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा वातावरणविद्हरुले दीर्घकालीन र समावेशी योजना बनाउन सुझाव दिएका थिए। उनीहरूले हचुवाको भरमा नभई गुरुयोजनाका आधारमा योजनाहरु निर्माण गरी कार्यान्वयन गर्न जोड दिए।

नेकपा एमालेका रुपबहादुर खत्री, नेपाली कांग्रेसका तारा पोख्रेल, माओवादी केन्द्रका डिल्ली अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीवन भण्डारी लगायतले नगरका गौरवका योजनालाई प्राथमिकता दिन सुझाव दिए।

वातावरणविद् डिल्लीबहादुर रावतले रासायनिक मलको प्रयोग कम गर्न र वातावरणीय बजेटको प्रभावकारी प्रयोग गर्न आग्रह गर्नुभयाे ।

राप्ती बहिरा संघका अध्यक्ष अजय शर्मा, पत्रकार हेमराज डाँगी, लक्ष्मी चौधरी, उद्योग वाणिज्य संघका देवबहादुर केसी लगायतले समावेशी, संवेदनशील र समृद्ध तुलसीपुर निर्माणका लागि आफ्ना सुझाव प्रस्तुत गरे।

नगरप्रमुख टिकाराम खड्काले मेट्रो कलेज, राप्ती आँखा अस्पतालजस्ता संस्थाहरू नगरका गौरव भएको उल्लेख गर्दै आगामी दिनमा थप गौरवका योजना आवश्यक रहेको बताउनुभयाे ।

उपप्रमुख स्यानी चौधरीले जनसहभागितालाई प्राथमिकता दिँदै नीति तथा बजेट निर्माण प्रक्रिया अघि बढाइने बताउनुभयाे ।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्