
“जनताले दिएको विश्वास र समर्थनको कदर गर्न नसक्ने नेतृत्वले अब टिकाउ विकास गर्न सक्दैन। एमाले र कांग्रेसले दुई तिहाई बहुमतको दम्भ देखाए पनि सत्ता र शक्ति सधैँ रहँदैन।”
लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद धनबहादुर मास्कीले शनिबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा यस्तो टिप्पणी गर्नुभएको हो।
एच. आर. मिडिया हाउस प्रालिको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै सांसद मास्कीले दाङको विकासका लागि प्रमुख तीन दलका शीर्ष नेताले गरेका प्रतिबद्धता पूरा नभएको उल्लेख गर्नुभयो। विशेषगरी तुलसीपुरको टरिगाउँ विमानस्थल स्तरोन्नतिको विषयमा पटक–पटक आश्वासन दिइए पनि व्यवहारमा प्रगति नदेखिँदा नागरिक निराश भएको उहाँको भनाइ थियो।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले समाज रूपान्तरणमा सञ्चारको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै गाउँ–बस्तीमा दबिएका आवाजलाई पत्रकारहरूले अभिव्यक्ति दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रम एच. आर. मिडिया हाउसका अध्यक्ष निमा रानाको अध्यक्षता र सांसद मास्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नरेन्द्र शाही, युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरे, मानव सेवा आश्रमकी हिरु जोशी, संरक्षण केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावत, रासस दाङ प्रमुख नारायणी रजौरे, तुलसीपुर उपमहानगरपालिका–५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, फोनिज दाङकी अध्यक्ष दीप्तिशिखा चौधरी, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्तप्रकाश वली, सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरा लगायत वक्ताहरूले निष्पक्ष पत्रकारिताको खाँचो औँल्याउनुभयो।
कार्यक्रमको सहजिकरण निरला अर्याल गैरेले गर्नुभएको थियो।
यसैबीच, वार्षिकोत्सवकै अवसरमा लामो समयदेखि पत्रकारिता र सञ्चार क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई सम्मान गरिएको थियो। रेडियो हाम्रो पहुँचकी सरिता चौधरी, नयाँ युगबोध राष्ट्रिय दैनिकका तुलसीपुर प्रमुख एकराज भण्डारी, पत्रकार तिलक केसी, हेमराज परिवर्तन र बिरेन्द्र घर्तीमगरलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो।
स्वागत मन्तव्य दिदै एच. आर. मिडिया हाउसका प्रबन्ध निर्देशक एच. आर. मगरले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि समाज रुपान्तरण र सूचना प्रवाहमा मिडिया हाउस सक्रिय रहने प्रतिबद्धता जनाउनुभयाे ।

