
सामुदायिक वनमा आधारित हस्तकला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको १५ दिने ‘ढकिया बनाउने एडभान्स सीप विकास तालिम’ आज एक समारोहका बीच सम्पन्न भएको छ।
तालिम तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग, वडा नं. १३ को समन्वय तथा ग्रीन फाउन्डेशन दाङको आयोजनामा सम्पन्न भएको हो।
असार १ गतेदेखि सुरु भएको तालिममा वडा नं. १३ भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका १५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले तालिम अवधिभर परम्परागत ढकिया बनाउने सीपलाई अझ आधुनिक, प्रभावकारी र व्यावसायिक रूपमा प्रयोग गर्ने तरिका सिकेका थिए। ढकियासँगै चटकी, पेनहोल्डर, पुजाडाली, डस्टबिन जस्ता विभिन्न हस्तकला सामग्रीहरू बनाउन पनि तालिममार्फत ज्ञान र सीप प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
तालिमको समापन कार्यक्रम ग्रीन फाउन्डेशन दाङका अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षता र वडा नं. १३ का वडा अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले सामुदायिक वनमा सहज रूपमा उपलब्ध काँस लगायतका कच्चा पदार्थहरूको उचित सदुपयोग गर्दै स्वरोजगार सिर्जना गर्न तालिमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष केसीले तालिममार्फत सहभागीहरूमा नयाँ उत्साह र व्यावसायिक सोच पैदा भएको उल्लेख गर्दै सिकेको सीपलाई व्यवहारमा उतारी गाउँमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न आग्रह गर्नुभयो। उहाँले ग्रीन फाउन्डेशनले स्थानिय सरकारसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि दोहोर्याउनुभयो।
वडा सदस्य विमला शर्माले महिलाहरूको सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गर्दै सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने दिशामा सहयोग पुगेको बताउनुभयो।
त्यस्तै, वडा सदस्य बेलमती परियारले सहभागी महिलाहरूले अब सामूहिक उत्पादन र बजारीकरणमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
ग्रीन फाउन्डेशन दाङका सचिव जीत बहादुर खड्काले सहभागीहरूले सिकेको सीपलाई दीर्घकालीन रूपमा व्यवसायसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
सहभागी सस्मिता चौधरीले आफूजस्ता युवाहरूका लागि यस्तो तालिमले आत्मनिर्भर बन्ने आत्मविश्वास दिलाएको प्रतिक्रिया दिनुभयाे ।
तालिमकाे प्रशिक्षक शुशिला कुमारी थारु र शारदा चौधरी रहनुभएकाे थियाे ।
यो तालिमले सामुदायिक वनका स्रोतहरूलाई दिगो ढंगले उपयोग गर्दै ग्रामीण समुदायमा स्वरोजगार र आत्मनिर्भरताको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

