सहकारी नै सामुदायिक विकासको आधारस्तम्भ : प्रमुख अतिथि पान्डे



अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाको ९औँ साधारण सभा तथा कप्तान फुलबारी उद्यानको उद्घाटन कार्यक्रम  सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा तुल्सीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पान्डेले सहकारीलाई आर्थिक, सामाजिक र सामुदायिक विकासको आधारस्तम्भ भन्दै आगामी योजनामा पालिकाबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

पान्डेका अनुसार सहकारीले स्थानीय आर्थिक सशक्तीकरण, समुदायबीच सहकार्य र साझा विकासलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। उहाले अमृतपुर सहकारीले सञ्चालन गरेका कार्यक्रमले समुदायमा देखिएको सकारात्मक प्रभावको प्रशंसा गर्दै यस्ता सहकारीहरू सुदृढ हुने हो भने स्थानीय समृद्धि स्वयं गतिमा अघि बढ्ने  कुरामाजोड दिनुभयो।

समारोह संस्थाका अध्यक्ष टेकनाथ याेगिकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष, तुल्सीपुर ३ का वडा अध्यक्ष विजय बि.के., महासंघ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थित रह्यो।

विशिष्ट अतिथि वडा अध्यक्ष बिर बहादुर बि.के.ले सहकारीले समुदायमा स्थापित गरेको विश्वसनीयता प्रशंसनीय रहेको बताउँदै कप्तान फुलबारी उद्यानले स्थानीय पर्यटन र हरित क्षेत्र विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा अन्य वक्ताहरूले सहकारीको भूमिका, सामुदायिक सहभागिता र उद्यानले स्थानीय विकासमा पुर्‍याउने योगदानबारे आफ्ना धारणा राखेका थिए।

साधारण सभाले विगतका कार्यक्रम र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका योजनाहरूलाई सर्वसम्मतिले पारित गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्