तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमारगाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दमारगाउँ चर्चले क्रिसमस ‘डे’ को अवसर पारेर आज विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो ।
जाडो समयमा बालबालिकाको पढाइमा सहजताका लागि न्यानो कपडा वितरण गरिएको दमारगाउँ चर्चका पास्टर तथा समाजसेवी टोप बहादुर महताराले बताउनुभयो । विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत ४७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
उहाँले विपन्न बालबालिकाका जाडो समयमा न्यानो कपडा नहुँदा विद्यालय आउन समेत कठिनाइ हुने भएकाले पढाइमा निरन्तरताका लागि न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य दल बहादुर गुरुङको अध्यक्षता तथा तुलसीपुर-३ का अध्यक्ष बिजय बिकको प्रमुख आतिथ्यता एवं वडा सदस्य कर्णबहादुर बुढाको विशिष्ठ आतिथ्यतामा न्यानो कपडा वितरण कार्यक्रम भएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष बिजय विकले कमाइको केहि अंश समाजिक काममा खर्च गर्नु निकै सकारात्मक कुरा भएको बताउनुभयो । उहाँले चिसोका कारण बालबालिका विद्यालय नआउने समस्या हुने भएकाले पनि स्विटरले बालबालिकाको सिकाइमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रममा दमारगाउँ चर्चका अध्यक्ष शावित्रा विकले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्न न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक जंगबिर केसीले न्यानो कपडा दिने दमारगाउँ चर्च परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सुरेन्द्र गुरुङले गर्नुभएको हो ।