
प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको ३३ औं स्थापना दिवस आज विभिन्न कार्यक्रम सहित मनाइदैछ । शाखाले श्रष्ठा सम्मान, पुरस्कार र साहित्यिक कार्यक्रम गरेर दिवस मनाउन थालेको अध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
२०५० साल पुस ३ गते स्थापना भएको प्रगतिशील लेखक संघ दाङ शाखाले हरेक बर्ष पुसको ३ गते स्थापना दिवस मनाउँदै आएको छ । यस बर्ष साहित्यकार तथा शिक्षाविद नारायण तर्ताललाई सम्मान गर्ने लगायत सा जना साहित्यकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
संघले यस बर्ष प्रगतिशील साहित्य पुरस्कार साहित्यकार श्याम चिसलाई । यसैगरी पद्मप्रसाद शर्मा र शान्तादेवी शर्माले स्थापना गर्नुभएको अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार तथा बामपन्थी आन्दोलनका अगुवा भगवती चौधरीलाई प्रदान गर्ने भएको छ ।
यसैगरी रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार खगेश्वर भण्डारीलाई प्रदान गर्ने भएको छ ।
यस्तै ऋषिराज जंगलीले स्थापना गर्नुभएको लिला–फना–बसन्ता श्रष्टा सम्मान पुरस्कार नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष समेत रहनुभएका शोधकर्ता दुर्गालाल केसीलाई प्रदान गर्ने भएको छ ।
यस्तै कृष्ण गायत्रा स्मृति प्रतिष्ठानले स्थापना गरेको कृष्ण गायत्रा साहित्य पुरस्कार गणेश विषमलाई प्रदान गर्दैछ । यसैगरी देवि पोखरेलले स्थापना गर्नुभएको सुदय केशव तिलोत्तमा साहित्य पुरस्कार प्रलेस दाङका पूर्व अध्यक्ष भुवन देवकोटा शरदलाई प्रदान गरिने भएको छ ।
यसैगरी प्रलेस दाङमा साहित्यकार श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीलाई प्रदान गरिने भएको छ ।
प्रलेस दाङका सल्लाहकार पुरुषोत्तम खनाल, पूर्व जिल्ला अध्यक्ष शरद अधिकारी र जिल्ला अध्यक्ष चन्द्र बहादुर थापा रहेको छनौट समितिले प्रतिभा छनौट गरेको थियो ।
विहान साढे ११ बजेदेखि राप्ती साहित्य परिषदको सभाकक्षमा हुने स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण साहित्यकार एवं साहित्यानुरागीलाई प्रलेस दाङका अध्यक्ष थापाले आग्रह गर्नुभएको छ ।

