
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवको चौथो दिन चर्चित लोकदोहोरी गायक श्याम रानाको विशेष प्रस्तुतिमा हजारौँ दर्शक झुमेका छन् ।
‘चक्लेटी गायक’को उपनामले परिचित रानाले स्टेज छाडेर सिधै दर्शकमाझ पुग्दै गीत गाएपछि कार्यक्रम झनै रोमाञ्चक बनेको थियो । आफ्ना प्रिय कलाकारलाई नजिकै पाउँदा दर्शकको उत्साह चरम सीमामा पुगेको देखिन्थ्यो । दर्शकसँगै नाच्दै, हात मिलाउँदै गीत गाउने क्रममा भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो ।
चिसो मौसमका बाबजुद पनि महोत्सव स्थलमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । रानाको आकर्षक प्रस्तुतीले साँझ अबेरसम्म महोत्सव स्थल गुञ्जायमान बनेको थियो ।
स्थानीय उत्पादनको बजारीकरण, कलासंस्कृतिको प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनको उद्देश्यले सञ्चालन भइरहेको महोत्सवमा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने गरेको आयोजकले जनाएको छ । महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।

