
राष्ट्रिय सभाकी पूर्व सदस्य कोमल वलीले दाङ जिल्ला प्राकृतिक रूपमा चलचित्र छायाङ्कनका लागि निकै उपयुक्त स्थान भए पनि आवश्यक भौतिक पूर्वाधार अभावका कारण यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको बताउनुभएको छ।
शनिबार तुलसीपुरमा आयोजित चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको छैठौँ अधिवेशन उद्घाटन गर्दै उहाँले दाङको भूगोल, प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले चलचित्र निर्माणका लागि ठूलो सम्भावना बोकेको बताउनुभयो। तर, लगानी र आवश्यक पूर्वाधार विकास विना दाङलाई प्रभावकारी छायाङ्कनस्थलका रूपमा स्थापित गर्न कठिन हुने उहाँको भनाइ थियो।
उहाँले चलचित्र क्षेत्रको विकाससँगै जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि पनि विस्तार हुने भएकाले यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साथै प्रविधिको विकासले पत्रकारिता र चलचित्र निर्माण दुवै क्षेत्रमा सहजता ल्याएको उल्लेख गर्दै यसको सही प्रयोग गर्नुपर्ने र मौलिकता तथा मेहनतलाई जोगाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीले पछिल्लो समय सामाजिक सञ्जालले पत्रकारितालाई प्रभावित गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।
पत्रकार तथा लेखक वसन्त आचार्यले तुलसीपुरमा सिनेमा हल निर्माण प्रक्रिया अघि बढ्नुमा चलचित्र पत्रकारहरूको लामो समयदेखिको पहल र दबाब महत्वपूर्ण रहेको स्मरण गर्नुभयो। उहाँले समाजलाई दिशानिर्देश गर्ने चलचित्र र चलचित्रलाई मार्गदर्शन गर्ने पत्रकारिताबीचको सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूले पनि चलचित्र पत्रकारिताले जिल्लाको पर्यटन र सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखेका थिए।
उक्त अधिवेशनबाट चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा निरला अर्याल सर्वसम्मत चयन हुनुभएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा झग्गु भण्डारी तथा सदस्यमा टेकराज भण्डारी, हिमाल महरा र दिपेन खत्री चयन हुनुभएको छ। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ।

