
लुम्बिनीमा लामो समयदेखि अलपत्र परेको विद्युतीय बस सेवा आज बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलपछि सेवा सुरु गरिएको हो।
लुम्बिनी विकास कोषका प्रशासनिक अधिकृत चुडामणि भट्टराईका अनुसार हाल दुई वटा रुटमा बस सञ्चालन गरिएको छ। एउटा बस लुम्बिनी–विमानस्थल–बेलहिया रुटमा सञ्चालनमा आएको छ भने अर्को बस लुम्बिनी–तिलौराकोट–कुदान रुटमा चलाइएको छ।
चार्जिङ स्टेसन बिग्रिएका कारण लामो समय बस सेवा अवरुद्ध भएको थियो। मंगलबार राति मर्मत सम्पन्न भएपछि बस सञ्चालन सम्भव भएको हो।
हालका लागि यात्रुबाट कुनै भाडा नलिइने र स्वेच्छिक रूपमा दान बाकसमा रकम राख्न सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा रामग्राम, देवदहलगायतका क्षेत्रमा पनि विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको कोषले जनाएको छ।

