
दिपक वली
रुन्टिगढि सेवा समाज दाङले विश्वका विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका आफ्ना सात जना सदस्यहरूलाई विशेष कार्यक्रममार्फत स्वागत तथा सम्मान गरेको छ।
समाजको नीति तथा नियम अनुसार सञ्चालन गरिएको उक्त कार्यक्रम समाजका अध्यक्ष गिरीराज दसौदीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका सदस्यहरूको योगदान, मेहनत र समाजप्रतिको लगावको कदर गर्दै सम्मान पत्र र माला अर्पण गरी स्वागत गरिएको थियो।
स्वागत तथा सम्मानित हुने सात सदस्यहरू ज्ञान बहादुर बस्नेत (दुबई), गणेश बस्नेत (कोरिया), प्रेम बस्नेत (पोर्चुगल), मनिषा गिरी बस्नेत (पोर्चुगल), गोकर्ण बस्नेत (पोर्चुगल), सरद बुढाथोकी (अस्ट्रेलिया) र गोमा पौडेल बुढाथोकी (अस्ट्रेलिया) रहेका छन्।
कार्यक्रमको सहजिकरण समाजका सचिव नरेन्द्र डिसीले गर्नुभएको थियो।
कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय समुदायका प्रतिनिधि, आमन्त्रित अतिथि तथा पत्रकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।
रुन्टिगढि सेवा समाज दाङले देश–विदेशमा रहेका आफ्ना सदस्यहरूबीच आपसी सम्बन्ध मजबुत बनाउने, सामाजिक एकता कायम गर्ने र विदेशबाट फर्किएपछि उनीहरूलाई समाजमा पुनः अभिन्न अंगको रूपमा स्थापित गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको हो।
“विदेशमा गएर कठोर परिश्रम गरेर फर्किनु आफैंमा गौरवको कुरा भएको समाजका अध्यक्ष गिरीराज दसौदिले बताउनुभयो। उनीहरूले विदेशमा रहँदा समाज र देशको पहिचान उजागर गरेका छन्। समाजले उनीहरूको योगदानको सम्मान गर्न पाउनु गर्वको विषय हो।” उँहाले भन्नुभयो ।
उहाँले विदेशमा रहेका अन्य सदस्यहरूलाई पनि स्वदेश फर्किएपछि समाजमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। रुन्टिगढि सेवा समाजले यस्ता सदस्यहरूलाई सम्मान गरेर सबै युवामा सकारात्मक सन्देश दिएको छ ।
कार्यक्रममा सम्मानित सदस्यहरूले पनि समाजप्रतिको आभार प्रकट गर्दै भविष्यमा समाजका सामाजिक तथा विकासका कार्यमा सक्रियरूपमा सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन ।

