विपद्को पीडाबीच बाँच्ने आशा



दिप्तिशिखा चाैधरी

रसुवा–नुवाकोटको बाढीले केवल घर, सडक र संरचना बगाएको छैन, धेरै परिवारको सपना, रोजगारी र सामान्य दैनिकीसमेत तहसनहस बनाएको छ। आज त्यहाँका नागरिक आर्थिक अभावसँगै सामाजिक र मानसिक पीडासँग जुधिरहेका छन्।

सबैभन्दा बढी चिन्ता गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकको छ। पोषणयुक्त खानेकुराको अभाव, राहतका लागि लामो लाइनमा बस्नुपर्ने बाध्यता र नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पतालसम्म पुग्न नसक्ने अवस्थाले उनीहरूको पीडा झनै गहिरो बनाएको छ।

विपद्को समयमा पेट भर्नु मात्रै पर्याप्त हुँदैन, मान्छेलाई सुरक्षित महसुस गराउन, सम्मानपूर्वक बाँच्न र स्वास्थ्यको अधिकार सुनिश्चित गर्न पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले राहतसँगै स्वास्थ्य सेवा, पोषण, स्वच्छ पानी र सुरक्षित वातावरणलाई प्राथमिकता दिनुपर्छ।

होल्डिङ सेन्टर तथा अन्य आश्रयस्थलमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने हिंसा, दुर्व्यवहार तथा असुरक्षाप्रति नेपाल प्रहरीले संवेदनशील भएर काम अघि बढाइरहेको छ। यो संकटमा राहत जति आवश्यक छ, त्यति नै आवश्यक छ—सुरक्षा, संरक्षण र मानवीय व्यवहार।

अँध्यारो सुरुङभित्र उद्धारकर्मीले अघि बढाएको प्रत्येक पाइला बाहिर पर्खिरहेका परिवारका लागि आशाको पाइला बनेको छ।
विपद्ले धेरै कुरा खोसेको छ, तर आशा खोस्न सकेको छैन।
अझै पनि उद्धारको प्रतीक्षा गरिरहेका आँखाहरू छन्, आफ्ना मान्छे फर्किने विश्वासमा बसेका परिवार छन् र कठिनाइका बीच पनि जीवनलाई समातेर अघि बढिरहेका मानिसहरू छन्।

आज आवश्यक छ, एक–अर्काको हात समात्ने, पीडामा साथ दिने र कमजोर बनेका मनहरूलाई हौसला दिने।

घर भत्किन सक्छ, बाटो बन्द हुन सक्छ, जीवन केही समय अस्तव्यस्त हुन सक्छ; तर आशा जीवित रह्यो भने पुनः उठ्न सकिन्छ।

बाढी प्रभावित सबैप्रति हाम्रो साथ, सहानुभूति र ऐक्यबद्धता।
उद्धारको प्रतीक्षामा रहेका सबै सुरक्षित रूपमा आफ्ना परिवारको काखमा फर्किऊन् यही आजको सबैभन्दा ठूलो कामना हो।

प्रकाशित मिति : २०८३ भाद्र १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्