अष्टिम्की : आस्था, थारु लोकचित्रकला र संस्कृतिको अनुपम पर्व

पछिल्लो समय परम्परागत अष्टिम्की चित्रको सट्टा पोस्टर प्रयोग गर्ने चलन बढ्दै


दिप्तीशिखा चौधरी

परम्पराअनुसार भाद्र महिनाको कृष्ण पक्ष अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई डङ्गौरा थारु समुदायले ‘अष्टिम्की’ अर्थात् कृष्ण जन्माष्टमीका रूपमा मनाउँदै आएको छ। चन्द्रमाको गतिअनुसार तिथि परिवर्तन हुने भएकाले अष्टिम्की पर्व हरेक वर्ष फरक–फरक समयमा पर्ने गर्दछ। डङ्गौरा थारु समुदायमा यो पर्व विशेषगरी महिलाहरूले श्रद्धा र उत्साहका साथ मनाउने महत्वपूर्ण सांस्कृतिक पर्व हो।

कृष्ण अर्थात् कान्हालाई टीका लगाएर पूजा गर्ने परम्परा रहेकाले थारु भाषामा यस पर्वलाई ‘अष्टिम्की’ भनिएको मानिन्छ। धार्मिक आस्थासँगै अष्टिम्की थारु समुदायको मौलिक लोककला, संस्कृति, गीत, खानपान र सामाजिक सम्बन्धसँग पनि जोडिएको छ।

डेहरीमा जीवन र सृष्टिको कथा

अष्टिम्कीका दिन गाउँको मटावाको घरको बैठक कोठा अर्थात् ‘बह्री’मा राखिएको अन्नको भाँडो ‘डेहरी’लाई ढुङ्गाले पिँधेर तयार पारिएको चामलको झोलले पोतिन्छ। यही डेहरीमा थारु लोकचित्रकारहरूले परम्परागत अष्टिम्की चित्र कोर्ने गर्छन्।

पहिले अष्टिम्की चित्र बनाउन प्राकृतिक वस्तुबाटै रङ तयार पारिन्थ्यो। सुकेको लौका आगोमा पोल्दा बनेको कोइलाबाट कालो, सिमीको पात पिसेर हरियो र गेरुबाट रातो रङ बनाइन्थ्यो। चित्र कोर्न बाँसलाई पेन्सिल आकारमा काटेर कूचीका रूपमा प्रयोग गरिन्थ्यो। अहिले भने बजारमा पाइने विभिन्न प्रकारका रङको प्रयोग बढेको छ।

अष्टिम्की चित्र केवल सजावटका लागि बनाइने चित्र होइन। यसमा थारु समुदायको धार्मिक विश्वास, लोककथा, प्रकृतिप्रतिको सम्बन्ध र जीवनदर्शनसमेत झल्किन्छ।

डेहरीको माथिल्लो भागमा माटोका चारवटा टाउका बनाइन्छन्, जसलाई थारुहरूले ‘बरमुन्हा’ भन्छन्। यसलाई रावणको प्रतीकका रूपमा लिइन्छ। डेहरीको चारैतिर त्रिभुजाकार बुट्टा भरिन्छन्। त्यसैमा एकातिर सूर्य र अर्कोतिर चन्द्रमाको चित्र बनाइन्छ।

थारु लोकसंस्कृतिविद् अशोक थारुका अनुसार थारु लोककाव्यमा ‘सुरजभरार’को विशेष स्मरण हुने भएकाले थारु संस्कृतिमा सूर्यको महिमा महत्वपूर्ण मानिन्छ।

सूर्यको मुनि लहँगा लगाएका पाँच द्रौपदी र त्यसको तल पाँच पाण्डवको चित्र बनाइन्छ। कतिपय पाण्डवलाई छाता ओढेको तथा कसैलाई मादल बजाइरहेको अवस्थामा चित्रित गरिन्छ।पाण्डवहरूको बीचमा द्रौपदीलाई भित्र्याइएको डोलीको चित्र बनाउने परम्परा पनि छ।

चित्रको तल्लो भागमा वासुकी नाग तथा गोही, गंगटा, माछा र कछुवाजस्ता जलजीव चित्रण गरिन्छ। बीचमा कान्हाको प्रिय रुख मानिने कदम्बको बोट बनाइन्छ। यसरी अष्टिम्की चित्रले थारु समुदायको धार्मिक आस्था र सृष्टिको उत्पत्तिदेखि विकासक्रमसम्मको कथा बोकेको देखिन्छ।

पूजाको तयारीमा जुट्छन् गोपीनी

चित्रकारहरू डेहरीमा चित्र कोर्न व्यस्त रहँदा थारु महिलाहरू अर्थात् गोपीनीहरू बिहानैदेखि पूजाको तयारीमा जुट्छन्। घरआँगन लिपपोत गर्ने, माटाका पाला तथा गरगहना ‘खरी’ले माझेर चम्काउने र कान्हालाई चढाउने सामग्री जुटाउने काम हुन्छ।

घुन्यासर फूल, काक्रो, अमिलो, मेवालगायतका सामग्री संकलन गरिन्छ। साँझ पर्दै जाँदा महिलाहरू श्रृंगारमा जुट्छन्।
रात पर्दै गएपछि श्रृंगार गरेका थारु युवतीहरू हातमा चामल, फूल, मेवा, कागती–अमिलो र बत्ती राखिएको थाल बोकेर लामबद्ध हुँदै मटावाको घरतर्फ जाने दृश्य निकै मनमोहक देखिन्छ।

गीत, पूजा र ननिभ्ने बत्ती
पूजास्थलमा गुन्द्रिमा ब्रतालुहरूले आफ्ना पूजा सामग्री राख्छन्। मटावाकी पत्नीले अष्टिम्की चित्रमा सिन्दूरको टीका लगाइदिएपछि पूजा सुरु हुन्छ। त्यसपछि ब्रतालुहरू सामूहिक रूपमा पूजा गर्दै रातभर अष्टिम्की गीत गाउने गर्छन्।

सीरीजीट गईलरी जलथर ढरटि
सीरीजीट गईलरी कईला कुश डाव’

अष्टिम्की पर्वमा बत्तीको पनि विशेष महत्व हुन्छ। ब्रतालुहरूको विश्वासअनुसार बत्ती निभे इच्छापूर्ति हुँदैन। त्यसैले रातभर तेल थप्दै बत्ती बालिरहने परम्परा छ।

नदीमा टपरी सेलाउने चलन

अष्टिम्कीको दोस्रो बिहान पनि महिलाहरू श्रृंगार गरेर टपरीमा फलफूल र बत्ती राखी गीत गाउँदै पूजास्थल पुग्छन्। पूजा सम्पन्न भएपछि नजिकैको नदीमा प्रसादसहित टपरी सेलाउने चलन छ।

थारु लोकविश्वासअनुसार बलेको टपरी गोकुलको जमुनासम्म पुग्छ र त्यहाँ कान्हाले प्रसाद ग्रहण गर्छन्। त्यसपछि ब्रतालुहरू नदीमा स्नान गरी घर फर्किन्छन्।

घरमा विशेष परिकार तयार गरिन्छ। गेडा मिसाइएको परवरको साग, पाप्रो अर्थात् “गब्डा”, चिचिण्डो, अर्थात “कैठा”  भात र घिउलगायतका परिकार बनाउने चलन छ।

दिदीबहिनीका लागि छुट्याइने ‘अग्रासन’ टपरीमा राखेर पठाउने परम्पराले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र भातृप्रेमलाई समेत उजागर गर्छ।

पोस्टरको बढ्दो प्रयोग, संरक्षणको प्रयास
डङ्गौरा थारुहरूले परापूर्वकालदेखि भागवत पुराणमा आधारित अष्टिम्की पर्व मनाउँदै आएका छन्। तर पछिल्लो समय परम्परागत रूपमा डेहरीमा बनाइने अष्टिम्की चित्रको सट्टा बजारमा पाइने पोस्टरमा टीका लगाएर पूजा गर्ने चलन बढ्दै गएको छ।

यसले मौलिक अष्टिम्की चित्रकला संरक्षणमा चुनौती थपिएको संस्कृतिप्रेमीहरूको चिन्ता छ। यही अवस्थालाई मध्यनजर गर्दै पछिल्ला वर्षहरूमा युवा पुस्तालाई अष्टिम्की चित्रकला सिकाउने तालिमसमेत सञ्चालन हुन थालेका छन्।

यस्ता प्रयासले हराउँदै जान थालेको परम्परागत थारु लोकचित्रकलाको संरक्षणमा सहयोग पुग्ने र नयाँ पुस्तामा आफ्नो कला, संस्कृति र परम्पराप्रति चासो बढ्ने विश्वास गरिएको छ।

अष्टिम्की केवल कृष्ण जन्माष्टमी मनाउने पर्व मात्र होइन। यो थारु समुदायको आस्था, मौलिक चित्रकला, लोकगीत, प्रकृतिप्रतिको सम्बन्ध, खानपान र सामाजिक सम्बन्धलाई एउटै सूत्रमा बाँध्ने जीवन्त सांस्कृतिक पर्व हो। यसको मौलिकता जोगाउनु भनेको एउटा पर्व मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको थारु समुदायको सांस्कृतिक पहिचान जोगाउनु पनि हो।

प्रकाशित मिति : २०८३ भाद्र १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्