सिप सिक्दै उद्यमतर्फ सामुदायिक वनकी महिला – तुलसीपुरमा १५ दिने तालिम सम्पन्न



 

वन उद्यम कार्यक्रम अन्तर्गत सामुदायिक वनका महिला पदाधिकारीहरूलाई लक्षित गर्दै तुलसीपुरमा आयोजित १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ। तालिममा थाकलकाे झोला, टोपी  जस्ता हस्तनिर्मित वस्तु उत्पादन गर्ने सीप प्रदान गरिएको थियो। तालिममा तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका ४० जना महिला सहभागी थिए।

यस तालिमको उद्देश्य महिलाहरूलाई स्वरोजगारमुखी बनाउँदै स्थानीय स्रोत साधनको उपयोगमार्फत आयआर्जनमा जोड्नु रहेको आयोजक संस्थाले बताएकाे छ। तालिम समापन कार्यक्रममा सहभागीहरूले यस्तो खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सहभागी महिला चन्द्रकला तिवारीले तालिम निकै उपयोगी भएको बताउँदै भन्नुुभयाे- “महिलाहरू बेरोजगार छन्, घरभित्र सीमित छन्, यस्ता तालिमले सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुर्‍याउँछ। स्थानिय सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ।”

तुलसीपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष देवबहादुर केसीले निजी क्षेत्रसँग समन्वय गरी यस्ता सीपमूलक तालिमलाई बजेटमा समेट्न स्थानिय सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयाे । उहाले भन्नुभयाे- “सिप विकासमात्र होइन, महिलाहरूलाई उद्यमसहित बजारमा पहुँच दिनु आवश्यक छ। तालिमले जबसम्म आयआर्जनमा परिणत हुँदैन, त्यसको दीर्घकालीन प्रभाव देखिँदैन।”

संघका सल्लाहकार सरद रेग्मीले घरेलु सामग्रीको प्रवर्द्धनमा संघले सक्रिय भूमिका खेलिरहेको जानकारी दिँदै यस्ता उत्पादनलाई बजारसम्म पुर्‍याउन नेटवर्क र प्रबर्द्धन आवश्यक रहेको उल्लेख गर्नुुभयाे ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले सीप विकास सम्बन्धी धेरै कार्यक्रम सञ्चालन भए पनि सञ्चारमार्फत यसको प्रभाव विस्तार नहुँदा ओझेलमा परेको बताउनुभयाे। “उहाले भन्नुभयाे-“अब यी कार्यक्रमलाई सञ्चार माध्यममा ल्याएर समाजमा सकारात्मक सन्देश दिनुपर्छ।”

वडा नं. ३ का अध्यक्ष वीरबहादुर विकले तालिम सीप सिकाएर मात्र सीमित नभई, सिकेको सीपलाई व्यावसायिक आयआर्जनमा रूपान्तरण गर्न सक्ने बनाइनु पर्नेमा जोड दिनुभयाे। “सामुदायिक वनको जगेर्ना गर्दै आर्थिक सशक्तीकरणतर्फ उन्मुख हुने बाटो यही हो,” उहाले भन्नुभयाे ।

यस्तै, वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले तालिमको औचित्य तब हुन्छ जब त्यसले प्रत्यक्ष आम्दानी दिन्छ। उहाले तालिमपछिको निरन्तरता सुनिश्चित गर्न पालिकालाई बारम्बार घच्घच्याउनु पर्ने र उत्पादन, बजार र मूल्य निर्धारणसम्मको योजना आवश्यक रहेको बताउनुभयाे।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले सीप सिकेर जीवन परिवर्तन गर्न सकिने बताउँदै यसमा निरन्तर लागिरहनुपर्ने बताउनुभयाे। “हामी आत्मनिर्भर बन्ने कुरा गर्छौं भने त्यो कुरा व्यवहारमा उतार्न यस्ता तालिम नै मेरुदण्ड हुन्,” उहाले भन्नुभयाे । “तालिमसँगै बजारिकरणमा पनि नगरपालिका लागिरहन्छ।”

उहाका अनुसार सामुदायिक वनका पदाधिकारीसँग समन्वय गरेर यो तालिम सञ्चालन गरिएको हो। “बजारमा अहिले धूपको माग धेरै छ,”याे सम्बन्धि तालिम पनि दियाे । “त्यसैले यस्तो उत्पादनमूलक तालिम आवश्यक छ। घरमै बसेर सीप सिक्ने र आम्दानी गर्ने वातावरण बनाउँदैछौं।”

तालिममा प्रशिक्षकमा कृष्णा चौधरी रहनु भएको थियाे। प्रशिक्षणका क्रममा थाकलकाे झोला,  टोपी लगायत हस्तनिर्मित वस्तु कसरी बनाउने भन्ने व्यावहारिक ज्ञान दिइएको थियो।

कार्यक्रमकाे शहजिकरण शाखा प्रमुख रमा खड्काले गर्नु भएको थियाे ।

सामुदायिक वनका महिला सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो तालिमले उनीहरूको सीप अभिवृद्धि मात्र होइन, आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमहरूलाई दिगो बनाउँदै व्यावसायिक उद्यममा जोड्न सके, स्थानीय स्तरमै रोजगारी सिर्जना हुने निश्चित छ।

 

प्रकाशित मिति : २०८२ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्