लुम्बिनी प्रदेशमा आँखाकाे   ‘नानी प्रत्यारोपन निशुल्क’



लुम्बिनी प्रदेशमा आँखाको नानी प्रत्यारोपन निशुल्क हुने भएको छ ।
प्रदेशका १२ जिल्लाका सर्वसाधारण कसैको पनि आँखाको नानी प्रत्यारोपनमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने भएको छ ।

मंगलबार तुलसीपुरमा कार्यक्रमको उद्घाटन पछि सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका स्वास्थ्य मन्त्री राजु  खनालले एक जना ब्यक्तिको नानी प्रत्यारोपन गर्न २४ हजार तीन सय १० रुपैंया लाग्ने र त्यो सबै खर्च अबदेखि प्रदेश सरकारले बेहोर्ने जानकारी दिनुभयाे।

चोट पटक लागेर वा संक्रमन भएर आँखाको ज्योति गुम्ने खतरा रहन्छ । गरिबीका कारण उपचार गर्न नसकी दृष्टी गुमाएका हरेक नागरिक अन्धकारमा बस्नु नपरोस, उनीहरुको दैनिक असहज नबनोस भन्ने उदेश्यका साथ निशुल्क रुपमा त्यस्ता ब्यक्तिहरुको ज्योति फर्काउने लक्ष्यका साथ नानी प्रत्यारोपनमा लाग्ने सबै खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरिएको मन्त्री खनालले बताउनुभयाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आँखा अस्पतालका एकाडेमिक चिफ डा. सुरेश रसाइलीले तुलसीपुरस्थित राप्ती आँखा अस्पताल रक्षाचौरमा मात्रै दुई बर्षको अवधिमा एक सय जना ब्यक्तिको आँखाको नानी प्रत्यारोपन गरिएको भएपनि नानी ल्याउँदा धेरै प्राबिधिक रुपमा कठिनाईहरु झेल्नु परेको बताउनु भएकाे थियाे ।

कार्यक्रमलाई जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्मा, मन्त्रालयका स्वास्थ्य सचिव जनार्दन पन्थी, राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरी लगाएतले आँखा उपचार र गुमेको आँखाको ज्योति फर्काउने सवालमा राप्ती आँखा अस्पताल रक्षाचौरले खेल्दै आएको भूमिकाको प्रसंसा गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग एवम नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा निशूल्क आँखाको नानी प्रत्यारोपण कार्यक्रम सुरु गरिएको हो । प्रदेशका सम्बन्धित पाँच वटा आँखा अस्पतालहरुमा यस्तो सेवा निशुल्क उपलब्ध प्रदान गरिने भएको छ ।
अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको  थियाे ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्