
सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरूमार्फत मनाइएको तुलसीपुर नगर जेसीजको जेसीज सप्ताह २०२५ शनिबार सम्पन्न भएको छ। सप्ताहभरि विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको तुलसीपुर नगर जेसीजले रक्तदान कार्यक्रमको आयोजना गर्दै जेसीज सप्ताहको औपचारिक समापन गरेको हो।
कार्यक्रम तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न सामाजिक सरोकारका विषयमा आवाज उठाइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष शाहले वर्तमान परिवेशमा सरकारलाई खबरदारी गर्ने र सचेत गराउने खालका कार्यक्रमको खाँचो बढ्दै गएको उल्लेख गर्नुभयाे ।जनताको सेवाका लागि खटिएका जनप्रतिनिधिहरु स्वयं पनि प्रणालीका कारण अप्ठ्यारोमा परिरहेको भन्दै उहाले गम्भीर विषयहरूमा खुला बहस र छलफल आवश्यक रहेको धारणा राख्नुभयाे ।
शाहले स्थानीय तहदेखि संघीय तहसम्म जनप्रतिनिधिहरू आफैं पनि निर्णय प्रक्रियामा हेला र हेपाइको सिकार बनिरहेको गुनासो गर्दै यस्ता घटनाको खबरदारी र सजगता आवश्यक रहेको बताउनुभयाे।
सप्ताह समापन समारोहमा अध्यक्ष भुसालले जेसीज संस्था नेतृत्व विकाससँगै सामाजिक परिवर्तनको अभियानमा होमिएको बताउनुभयाे। उहाले जेसीज सप्ताहको माध्यमबाट युवा वर्गलाई सामाजिक सेवातर्फ अभिमुख गराउन खोजिएको उल्लेख गर्नुभयाे ।
“हामीले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्वलाई पनि जोडेर काम गरिरहेका छौँ,” अध्यक्ष भुसालले भन्नुभयाे-“युवा पुस्ता सामाजिक जागरूकता र सेवामा क्रियाशील बने देश परिवर्तन सम्भव छ।”

सप्ताह समापनको अवसर पारेर विश्व रक्तदाता दिवसको सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा १४ जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए। तुलसीपुर नगर जेसीजको आयोजनामा तथा रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रमका स्वागत मन्तव्य संयोजक पारस न्यौपानेले राखेका थिए भने साताव्यापी कार्यक्रमहरूका बारेमा मूल समिति संयोजक केशवराज न्यौपानेले जानकारी गराएका थियाे । उहाले सात दिनसम्म भएका विविध गतिविधिहरू – सरसफाइ, जनचेतना अभिवृद्धि, स्वास्थ्य परीक्षण, कानुनी सल्लाह, नेतृत्व विकास तालिम, तथा सामाजिक संवाद कार्यक्रमहरूबारे उपस्थितलाई जानकारी दिनुभयाे।
कार्यक्रममा जेसी आस्था पाठ कानुनी सल्लाहकार सुरज भण्डारीले कानुनी विषयका जानकारी प्रस्तुत गरेका थियाे भने कार्यक्रमको सहजीकरण सनद देवकोटाले गरेका थियाे ।
सप्ताहभरी यी कार्यक्रमहरू सञ्चालन
जेसीज सप्ताह अन्तर्गत तुलसीपुर नगर जेसीजले सञ्चालन गरेका कार्यक्रमहरूमा रक्तदान, नि:शुल्क स्वास्थ्य जाँच, सरसफाइ अभियान, विद्यालयमा बालअधिकार सम्बन्धी अभिमुखीकरण, नेतृत्व विकास सम्बन्धी तालिम, कानुनी सहायता, महिला सशक्तिकरण सम्बन्धी अन्तर्क्रिया लगायतका विषय समेटिएका थिए।
सप्ताह अवधिभर आयोजित कार्यक्रममा तुलसीपुरका विभिन्न क्षेत्रका प्रतिनिधिहरू, जेसीज सदस्य, युवा समूह, विद्यार्थी, महिला समूह, र सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रम आयोजकहरूका अनुसार जेसीज सप्ताहको मूल उद्देश्य सामाजिक उत्तरदायित्वमा केन्द्रित रहेर स्थानीयस्तरमा प्रभावकारी र परिणाममुखी क्रियाकलाप सञ्चालन गर्नु हो।
कार्यक्रमका अन्त्यमा सहभागीहरूमध्ये रक्तदाताहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने आगामी वर्षहरूमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
जेसीजको सामाजिक भुमिका
नेपाल जेसीज अन्तर्राष्ट्रिय युवा संगठनको राष्ट्रिय इकाइ हो, जसले १८ देखि ४० वर्ष उमेर समूहका युवालाई नेतृत्व, सामाजिक सेवा र आत्मविकासको अवसर प्रदान गर्छ। तुलसीपुर नगर जेसीज पनि सोही संगठनको एक सक्रिय शाखा हो, जसले हरेक वर्ष जेसीज सप्ताहमार्फत विविध रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ।
कार्यक्रमको समापनसँगै आयोजक टोलीले आगामी दिनमा अझ प्रभावकारी, समावेशी र सशक्त कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता व्यक्त गरे।

