आनन्द टोल विकास संस्थाको २५ औं साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन



घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ मा फैलिएको आनन्द टोल विकास संस्थाको २५ औं साधारण सभा तथा सातौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि गणेश प्रताप पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा राधादेवी बिष्ट, सचिवमा प्रेमबहादुर केसी, सहसचिवमा भुपबहादुर ओली, कोषाध्यक्षमा सन्ध्या महर्जन चयन भएका छन्। त्यस्तै सदस्यहरूमा किरण गिरी, इन्दु पुन, देवीराम पाण्डे, सुजाता राई, प्रकाश डाँगी र नविता सिंह रहेका छन्।

कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष भानसिंह बुढाले आफ्नो सम्बोधनमा स्थानीय स्तरमा जनताको सक्रिय सहभागितामार्फत विकासको जग मजबुत हुने भन्दै टोल विकास संस्थाको निरन्तर क्रियाशीलतालाई प्रशंसा गर्नुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा सोही टोल विकास संस्थाका पूर्व अध्यक्ष सबिन प्रियासनले संस्थाको २५ वर्षे यात्रा समर्पण, प्रतिबद्धता र निरन्तर प्रयासको फल भएको बताउनुभयाे। उहाले भन्नुभयाे- “सामाजिक उत्तरदायित्व बोकेर अघि बढ्ने संस्था नै समाजको मेरुदण्ड हो। आजको यो अधिवेशन संस्थालाई अझ प्रभावकारी बनाउने अवसर हो।”

अधिवेशनको अवसरमा संस्थाभित्र रहेका ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मानित १२ जना जेष्ठ नागरिकहरूलाई टोल विकास संस्थाले योगदानको कदरस्वरूप सम्मान गरेको हो।

संस्थाका नवनिर्वाचित अध्यक्ष गणेश प्रताप पुनले आगामी कार्यकालमा सामाजिक समावेशिता, पूर्वाधार निर्माण र शुद्ध खानेपानी पहुँच विस्तारमा केन्द्रित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयाे।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, युवाहरू, महिलाहरू, जेष्ठ नागरिक तथा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सहजिकरण सचिव प्रेमबहादुर केसीले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्