
नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (NWCCPC) को ३१औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशन आज शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ।
सस्थाका अध्यक्ष नवराज लामिछानेको अध्यक्षता तथा सस्थापक सदस्य बलदेव शर्माको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हाे ।
प्रमुख अतिथि शर्माले संस्थाको विगतको सक्रियताप्रति सन्तोष व्यक्त गर्दै सडकमा रहेका बालबालिकाको उद्धारदेखि महिला सशक्तिकरणसम्मको यात्रामा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँका अनुसार, “यस्ता कार्यहरूले केवल समाज परिवर्तन मात्र होइन, राज्यलाई पनि जिम्मेवार र जवाफदेही बनाउने कार्यमा टेवा पुर्याउँछन्।”
कार्यक्रममा संस्थापक सदस्य दिपक सिंह, आर्थिक सल्लाहकार बासुदेव अधिकारी, प्रेस सल्लाहकार दिप्तिशिखा चौधरीलगायतका वक्ताहरूले संस्थाको निरन्तर सामाजिक योगदानले स्थानीय स्तरमा ठूलो परिवर्तन ल्याएको धारणा राख्नुभयो। वक्ताहरूले आगामी दिनमा नयाँ योजना र रणनीतिसहित अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कोषाध्यक्ष सुशील कुमार धितालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने महासचिव नानीमैया केसिले २०८०/०८१ काे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
प्रतिवेदनमा विगत वर्ष संस्थाले गरेका प्रमुख गतिविधिहरू, बालबालिकाको उद्धार, महिला सीप विकास तालिम, हिंसाविरुद्ध सचेतना अभियान, विपन्न परिवारलाई सहयोग विस्तृत रूपमा समेटिएको थियो।

यसैबीच संस्थाकाे १६ औँ अधिवेशनले पुन: नवराज लामिछानेकाे अध्यक्षममा सर्वसहमतिबाट पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित गरेको छ ।
जसकाे उपाध्यक्षमा विजय के.सि, महसचिवमा नानिमैया वली, काेषाध्यक्षमा सुशील धिताल, सहसचिवमा नारायण प्रसाद रेग्मी , बैधानिक परामर्शदाता प्रदिप धिताल रहनु भएको छ ।
सदस्यहरूमा तुफान बाबु श्रेष्ठ, शारदा चौधरी, शान्ति बी.क., लहर आचार्य, प्रमिला तिवारी निर्वाचित भएका छन्।
२०५१ सालमा दर्ता भएको नवजागरण महिला तथा बाल संरक्षण केन्द्रले विगत तीन दशकदेखि सिमान्तकृत समुदाय, बालबालिका र महिलाका सवालमा निरन्तर आवाज उठाउँदै आएको छ।
बालबालिका सडकमा बस्ने समस्या, महिला हिंसा, शिक्षा पहुँच, स्वास्थ्य सचेतना, सीपमूलक तालिम जस्ता क्षेत्रमा संस्थाले ठोस पहल गर्दै आएको छ। हाल संस्थामा २८ जना बाहालवाला सदस्य रहेका छन्।
कार्यक्रम प्रदिप धितालको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजिकरण महासचिव नानीमैया वलीले गर्नुभएको थियो। सभामा संस्थाका पूर्वपदाधिकारी, सरोकारवालाहरू, स्थानीय निकायका प्रतिनिधि, पत्रकार, समाजसेवी, महिला समूहका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

