
मानव सेवा आश्रम तुलसीपुरले स्थापना देखि हालसम्म २७९जना सडक–आश्रित नागरिकलाई उद्धार गरेको छ। तीमध्ये ११३ जनालाई परिवारमा पुनर्मिलन गराइएको आश्रमका प्रमुख हिरु जोशीले जानकारी दिनुभयो।
हाल ७१ जना आश्रममै आश्रित, र ४२ जनाको आश्रममा निधन भएको छ। यस अवधिमा २३ जनालाई दोहोर्याइ उद्धार गरिएको आश्रमले जनाएको छ। उमेर अनुसार १८ वर्षमुनि ९ जना, १८–४० वर्ष २८ जना, ४१–६० वर्ष २३ जना तथा ६० वर्षभन्दा माथिका १४ जना उद्धार भएका छन्।
जोशीका अनुसार समुदाय र स्वयंसेवीको साथ भए पनि बजेट अभाव, संरचनागत चुनौती र दिगो आर्थिक स्रोतको कमीका कारण सेवा विस्तार प्रभावित भएको छ। भाडाको घरमा सेवा सञ्चालन गर्दा थप जोखिम रहेको पनि उहाँले बताउनुभयो।
यसैबीच आश्रमको चौथो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। प्रमुख अतिथि तुलसीपुर उपमहानगर प्रमुख टिकाराम खड्काले “सडक मानवमुक्त अभियानलाई पूर्ण सहयोग” गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय नेतृत्व, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

