
दाङको तुलसीपुर उपमहानगरपालिकालाई सडकआश्रित सहयोगापेक्षी बेसहारा मानवमुक्त नगर घोषणा गरिएको छ । “हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर : खुशी जनता, समृद्ध तुलसीपुर” भन्ने मूल नारासहित तथा “सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा” सुनिश्चित गर्ने प्रतिबद्धतासहित उपमहानगरपालिकालाई सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो ।
नगर प्रमुख टिकाराम खड्काले आइतबार आयोजित भव्य तथा सभ्य कार्यक्रममा सडकआश्रित मानवमुक्त घोषणापत्र वाचन गर्दै नगर क्षेत्रभित्र अब कोही पनि व्यक्ति बेसहारा भई सडकमा बस्न नपर्ने अवस्था सिर्जना गरिएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मात्र समृद्धिको मापदण्ड नभई मानवीय विकास नै साँचो समृद्धि भएको उल्लेख गर्नुभयो ।
२०७५ सालदेखि नै सडकआश्रित मानवहरूको उद्धार गर्दै आएको तुलसीपुर उपमहानगरपालिकाले मानवसेवा आश्रम (मानवता प्रवर्द्धन समिति) सँगको औपचारिक सहकार्य र सम्झौतामार्फत यस अभियानलाई पूर्णता दिएको हो ।
सम्झौता अनुसार सडकमा भेटिने असक्त, बेवारिसे तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, उपचार तथा पालनपोषणको जिम्मेवारी मानवसेवा आश्रमले लिनेछ भने त्यसको अभिभावकत्व उपमहानगरपालिकाले ग्रहण गर्नेछ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले सम्झौतापत्र वाचन गर्नुभएको थियो । सम्झौता अनुसार प्रत्येक शनिबार राति नगर क्षेत्रमा ‘रात्रीकालीन सडक सेवा’ सञ्चालन गरिनेछ । यस अभियानबाट कुनै पनि नयाँ व्यक्ति सडकमा अलपत्र नपर्ने उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले तुलसीपुर उपमहानगरपालिका मानवतामैत्री स्थानीय तहका रूपमा स्थापित भएको बताउँदै प्रदेश र संघीय सरकारसँग समन्वय गरी बासस्थान र सहज जीवनयापनका कार्यक्रमलाई थप सुदृढ गरिने उल्लेख गर्नुभयो ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले तुलसीपुरले १०० देखि १५० जनासम्म सडकआश्रित मानवको सफल उद्धार गर्दै नेपाल सरकारको राष्ट्रिय अभियानलाई महत्वपूर्ण योगदान दिएको बताउनुभयो । दुखीगरिब परिवारको अभिभावकत्व लिएर, महायज्ञ सञ्चालन गरेरसमेत सडकआश्रित मानवमुक्त घोषणा गर्न सफल हुनु उदाहरणीय भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा घोराहीतुलसीपुर सडक खण्डमा पर्ने दुई कट्ठा जग्गा मानवसेवा कार्यका लागि प्रदान गर्ने घोषणा विष्णु प्रसाद शर्माले गर्नुभयो । साथै मानवसेवा आश्रममार्फत मानवताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।
घोषणा कार्यक्रममा उपप्रमुख स्यानी चौधरी, मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारी, दाङ शाखा प्रमुख हिरु जोशी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष नारायणी रजौरे लगायतले आ- आफनाे भनाइ राखेका थिए ।
घोषणा अघि सयौँको संख्यामा सहभागीहरूको र्यालीले बजार परिक्रमा गरेको थियो ।
कार्यक्रमकाे शहजिकरण महिला बालबालिका सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नु भएको थियाे ।

भदौ २८ गतेका लागि तय गरिएको कार्यक्रम जेन–जी आन्दोलनका कारण स्थगित भएपछि आइतबार पुनः आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको हो । यस घोषणासँगै तुलसीपुर उपमहानगरपालिका ‘तुलसीपुर सभ्यता’ र ‘मानवताको सहर’ निर्माणतर्फ एक महत्वपूर्ण कदम अगाडि बढाएको छ ।

